खराब जीवनशैली र खानामा पोषक तत्वको कमीका कारण बाथको समस्या हुनु मानिसका लागि सामान्य बनिसकेको छ । बाथको समस्यालाई सामान्य रुपले बुझ्दा जोर्नीहरूमा सुन्निने र दुखाईको सामाना गर्नुपर्ने हुन्छ । सामान्यतया यो समस्या जुनसुकै उमेरमा हुन सक्छ, तर यो ६५ वर्षभन्दा माथिका मानिसहरूमा अझ बढी देखिने गर्छ । बाथको समस्या उमेरअनुसार फरक पनि पर्ने गर्दछ । त्यसैले आफ्नो भोजनमा केही यस्ता चिजहरु समावेश गर्न सकिन्छ जसले बाथको समस्या हुन नदिन र कम गर्न मद्दत गर्दछन् ।
माछा : आफ्नो आहारमा साल्मन, टुना र म्याकरेल जस्ता माछा समावेश गर्न सकिन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड हुने गर्दछ, जसले बाथको लक्षण कम गर्न निकै महत्वपूर्ण भूमिका खेल्छ ।
बेसार : बेसारमा करक्युमिन नामक शक्तिशाली तत्व हुन्छ, जसमा एन्टीइन्फ्लामेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसले बाथको समस्या रोक्न मद्दत गर्दछ ।
अदुवा : अदुवामा जिन्जेरोल र शोगाओल जस्ता एन्टीइन्फ्लामेटरी गुणहरू हुन्छन्, जसले अर्थराइटिसको दुखाइ र सुजन कम गर्न मद्दत गर्दछ ।
ग्रिन टी : यसमा क्याटेचिन नामक एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले सुजन कम गर्न र बाथको समस्या कम गर्न मद्दत गर्छ ।
ओलिभ ओइल : यस तेलमा ओलियोक्यान्थल जस्ता एन्टीइन्फ्लामेटरी यौगिकहरू प्रशस्त मात्रामा पाइन्छ, जसले बाथको लक्षणहरू कम गर्न मद्दत गर्दछ ।
स्ट्रबेरी : बाथको समस्या न्यून गर्नका लागि ब्लुबेरी, रास्पबेरी र स्ट्रबेरी सेवन गर्न सकिन्छ । यसमा एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लामेटरी यौगिकहरू प्रशस्त मात्रामा पाइन्छ, जसले सुजन कम गर्न र बाथको समस्या कम गर्न मद्दत गर्दछ ।
ओखर : ओखरमा ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ । यो पनि बाथका समस्या भएका व्यक्तिहरुका लागि फाइदाजनक हुन्छ ।
पालक : पालकको सागमा केम्फेरोल जस्ता एन्टीइन्फ्लामेटरी र एन्टीअक्सिडेन्ट तत्व हुन्छ । यसको सेवन फाइदाजनक हुन्छ ।
अनार : अनारमा एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लामेटरी गुणहरू प्रशस्त मात्रामा पाइन्छ । यसले बाथको समस्यामा सुन्निने र दुखाइ जस्ता लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस