काठमाडौँ, ७ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आन ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद गर्नुभएको छ ।
टेलिफोन संवादका क्रममा मन्त्री राणाले सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
सो फोनवार्तामा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गरिएको जानकारी गराउनुभएको थियो ।
साथै उहाँले त्यहाँस्थित नेपाली विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्शका लागि अलग्गै ‘हटलाइन’को व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइने जानकारी मन्त्री डा देउवालाई गराउनुभएको थियो ।
त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा छात्रावासमा रहेर पठनपाठन गर्न सक्ने सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि दिनुभएको थियो । कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट रहेको र यो सम्बन्धलाई आगामी दिनमा थप सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो ।
सो घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जनाइएको छ ।
मङ्गलबारमात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका थिए भने भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले कलेज प्रशासनसँग कुराकानी गर्नुभएको थियो ।
---
प्रतिकृया दिनुहोस