• बिहीबार-माघ-२४-२०८१

राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ

 

काठमाडौं । ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अपराह्न कुलेश्वरबाटै पक्राउ गरेको हो ।

 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेकी थिइन् । ‘राइस कुकर बनाउने बहानामा पटक-पटक कोठामा बोलाएर रकम मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ आचार्यले भने । रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने भन्दै आचार्यले ती व्यक्तिलाई दबाबमा पारिन् ।

 

‘पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएको देखिन्छ,’ आचार्यले भने। सो रकममध्ये आचार्यले तीन लाख रुपैयाँ चेकमार्फत् र बाँकी सात लाख एक सातामा दिने सर्तमा मोलमोलाई गरेको खबर प्रहरीमा पुगेको थियो ।   

 

‘सूचना प्राप्त भएपछि कार्यालयबाट टोली खटिँदा आचार्य आफ्नै कोठामा थिइन्,’ आचार्यले भने । आचार्यलाई आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस