• बिहीबार-माघ-१७-२०८१

कैलाश दर्शनका लागि चीन भारतबिच ५ बर्ष पछि सिधा उडान हुँदै

 

नयाँदिल्ली, १६ माघ । भारतबाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ । 

 

योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् । भारतीय बिदेश मन्त्रालयका अनुसार भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुईदिने बैठकमा यी दुई प्रमुख निर्णय भएको हो ।

 

कैलाश मानसरोवर यात्रा र दुई देशबीचको उडान सेवा २०२० देखि बन्द गरिएको थियो । यसको कारण सीमा विवाद र कोभिडको लहरपछि दुईबीचको खराब सम्बन्ध पनि थियो । जुन २०२० मा भारत र चीनबीच डोकलाम विवाद थियो र मार्च २०१९ मा कोविडको पहिलो लहर आए पछि दुबै देश बिच कैलाश दर्शनको उडान बन्द गरिएको थियो । 


भारतीय बिदेश मन्त्रालयका अनुसार सीधा उडान सेवा सुरु गर्न दुवै देशका प्राविधिक टोलीले चाँडै वार्ता गर्नेछन् भने पारस्परिक सहयोग र समझदारी अभिवृद्धि गर्न मिडिया र थिंक ट्याङ्कहरू बीचको अन्तरक्रियालाई प्राथमिकता दिइनेछ । र, दुई देशबीचको सम्बन्धको ७५ औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउन मिलेर काम गर्न सहमत भएका चीन भारत जलविज्ञान तथ्याङ्कको आदानप्रदान पुनः सुरु गर्न र सीमापार नदीहरूमा सहयोग अभिवृद्धि गर्न छलफल गर्न भारत र चीनबीच विज्ञ स्तरको बैठकसमेत हुनेछ ।

 

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच काजानमा ५ वर्षपछि भेटवार्ता भएको थियो । त्यसपछि दुई देशले आपसी सम्बन्धको अवस्थाबारे छलफल गर्दै सम्बन्ध सुधारका लागि केही कदम चाल्न सहमत भएका थिए । त्यस यता विगत ३ महिनामा चीन–भारत सीमा विवादित क्षेत्र डेम्चोक र देप्साङबाट दुवै देशका सेना पछि हटे पछि कैलाश मानसरोवर यात्रा र उडान सेवा सुरु गर्ने निर्णय भएको जनाइएको छ ।

 

कोरोना महामारी अघि दुई देशबीच हरेक महिना ५ सय ३९ सिधा उडान हुने गरेको थियो । तिनीहरूको कुल क्षमता १.२५ लाख सिट भन्दा बढी थियो। यी उडानहरूमा एयर इन्डिया, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सजस्ता कम्पनीहरू सामेल थिए । उडान सेवा बन्द भएपछि दुवै देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्याण्ड र सिङ्गापुरजस्ता कनेक्टिङ हब हुँदै आवतजावत गर्ने गरेका थिए तर यो यात्रा महँगो थियो ।

 

हवाई यातायातको जानकारी दिने कम्पनी सिरियमका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म भारत र चीनबीच यात्रा गर्नेको संख्या ४.६ लाख थियो । उही समयमा २०१९ को पहिलो १० महिनामा यो संख्या १० लाख पुगेको थियो ।


सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म हङकङ हुँदै १ लाख ७३ हजार, सिङ्गापुर हुँदै ९८ हजार, थाइल्याण्ड हुँदै ९३ हजार, बंगलादेश हुँदै ३० हजारले दुवै देशको भ्रमण गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस