• बुधबार-माघ-१६-२०८१

विवादस्पद हाकिम अविन्दर दास यातायात कार्यालय कलैया, बारामा प्रमुख नियुक्त

वीरगंज, माघ १४ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको आशीर्वादमा विवादास्पद छवि भएका अविन्दर दासले बाराको यातायात व्यवस्था कार्यालय कलैयाकाे प्रमुखको जिम्मेवारी पाएका छन् ।

 

यस नियुक्तिसँगै, उनले यातायात कार्यालयमा अनियमिततामा संलग्न हुने र आर्थिक असुलीमा संलग्न हुने कार्यहरू गरेका छन् भन्ने आरोपहरु उठेका छन्।

 

स्रोतका अनुसार, अविन्दर दासले कार्यालय प्रमुखको रूपमा कार्यभार सम्हाल्नासाथै असुलीका लागि दर्जनौं बिचौलिया परिचालन गरेका छन्। विशेषत: १७ माघदेखि लागू हुने नयाँ सवारी चालक अनुमति पत्रका विभिन्न श्रेणीहरूको परीक्षा पास गराउने नाममा बिचौलियामार्फत रकम असुल गर्न थालेको दाबी गरिएको छ।

 

प्रमुख दासको भनाइ अनुसार, उनले प्रदेश सरकारसँग सम्पर्क गरेर आफूलाई मुख्यमन्त्री सिंहको नजिक रहेको र यस कारण कुनै पनि कदम रोक्न असम्भव भएको बताएका छन्।

 

अविन्दर दास विगतमा विभिन्न यातायात कार्यालयहरूमा विवादास्पद कार्यशैलीका कारण बदनाम भएका थिए । वीरगंज र गौरका कार्यालय प्रमुखको रूपमा काम गर्दा उनीले भ्रष्टाचारको आरोप खेपेका थिए।

 

वीरगंजमा रहँदा उनले भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र यसका लागि कागजात नष्ट गर्ने आरोपसमेत खेपेका थिए। यस घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र विशेष अदालतमा दायर गर्दै उनलाई निलम्बन गरेको थियो।

 

यातायात व्यवस्था कार्यालय गौर रौतहटका प्रमुखको रूपमा पनि दासले दलालहरूको सहायतामा असुली गरेको आरोप छ ।

 

रौतहटमा प्रमुख दासले सवारी चालक अनुमति पत्र र अन्य सवारी सम्बन्धी प्रक्रियाहरूको लागि दलालमार्फत ठूलो रकम असुल गरेका थिए। यसैगरी, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टरजस्ता सवारी साधनको अनुमति पत्र वितरणमा अनियमिततामा संलग्न रहेको बताइएको छ।

 

अविन्दर दासका समकक्षीहरूको अनुसार, उनले आफ्नो शक्तिशाली सञ्जालका कारण काठमाण्डौंको उच्च ओहदामा रहेका व्यक्तिहरूसँग राम्रो सम्बन्ध बनाएका छन्। मुख्यमन्त्री सिंहसँगको नजिकको सम्बन्धले उनलाई अनियमिततामा संलग्न हुने खुला मौका दिएको दाबी गरिएको छ। उनले कर्मचारीलाई धम्क्याएर आफूसँग मिलेर काम गर्न दबाब दिनेको आरोप छ।

 

यसबीच, दाससँगै काम गर्ने कर्मचारी सत्यनारायण साहले पनि अबैध असुलीमा माहिर खेलाडीको रूपमा आफूलाई चिनाएका छन्। उनले वीरगंज र बारा क्षेत्रको विभिन्न यातायात कार्यालयहरूमा अबैध असुली गरेर ठूलो रकम कमाएका थिए। साह र दास मिलेर कार्यालयमा सेवाग्राहीसँग खुलेआम असुली गरिरहेका छन् भन्ने आरोप रहेको छ।

 

मुख्यमन्त्री सिंहको आशीर्वादमा कार्यरत अविन्दर दासले यस अघि पर्सा, रौतहट र वीरगंजका यातायात कार्यालयहरूमा अकूत सम्पत्ति कमाएको स्रोतको दाबी छ। वीरगंजको श्रीपुरमा उनले एक फ्याक्ट्री सञ्चालन गरेको र अन्य स्थानहरूमा घरघडेरी जोडेको आरोप पनि रहेको छ।

 

यसरी, विवादास्पद हाकिम अविन्दर दासको कार्यशैलीले समग्र मधेश प्रदेशको प्रशासनिक छवि र भ्रष्टाचारविरुद्धको संघर्षलाई कमजोर बनाएको भनाइ राखिएको छ।

 

 

 

 

प्रतिकृया दिनुहोस