• सोमबार-पौष-२९-२०८१

सिर्जना निङलेखुको अभिनयले 'कार्साङ'मा मच्चायो तहल्का

 

उर्लाबारी । सिर्जना निङलेखुले आफ्नो पहिलो चलचित्र 'कार्साङ'मा गहिरो र प्रभावशाली अभिनय प्रस्तुत गर्दै दर्शक र समीक्षक दुवैको मन जितेकी छन् । नेपाली फिल्म उद्योगमा पहिलो पाइला टेकेको भए पनि सिर्जनाले देखाएको अभिनय कौशल र पात्रप्रतिको न्यायले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ ।

 

यसअघि म्युजिक भिडियो र स्टेज कार्यक्रममा काम गरेर आफूलाई स्थापित गरेकी सिर्जनाले चलचित्र क्षेत्रमा समेत त्यही प्रतिबद्धता र आत्मविश्वासका साथ डेब्यु गरेकी हुन् । 'कार्साङ' को कथा र निर्देशनले नै दर्शकको मन तानेको भए पनि सिर्जनाको भूमिका जीवन्त बनाउने अद्भुत क्षमताले फिल्मलाई अझ प्रभावकारी बनाएको छ ।

 

फिल्ममा अभिनय गर्नु आफ्नो सपना रहेको बताउने सिर्जनाले पहिलो अनुभवलाई चुनौतीपूर्ण र प्रेरणादायी मान्छिन् । उनले भनिन्, 'फिल्म खेल्नु सजिलो कुरा होइन । मसँग आत्मविश्वास थियो, तर डर पनि ।  पहिलो पटक क्यामेराको अगाडि काम गर्दा निकै दबाब महसुस भएको थियो । तर दिग्गज कलाकारहरूको समर्थन र तारिफले मलाई झन् धेरै उत्साहित र प्रेरित बनाएको छ ।'

 

समीक्षकहरूको मतमा सिर्जनाले पहिलो फिल्ममै परिपक्वता देखाएकी छिन् । एक समीक्षकले लेखेका छन्, 'सिर्जनाको अभिनयमा स्वाभाविकता, भावनात्मक गहिराई र भूमिकाप्रतिको प्रतिबद्धता स्पष्ट देखिन्छ । उनी नेपाली फिल्म क्षेत्रको भविष्य हुन् ।'

 

सामाजिक सञ्जालमा सिर्जनाको अभिनयको खुलेर प्रशंसा गरिएको छ  । दर्शकहरूले उनलाई "नेपाली सिनेमा क्षेत्रको नयाँ महारानी" र "उदीयमान सुपरस्टार भन्दै सम्मान जनाएका छन् । धेरैले उनको चरित्रसँगको सम्बन्धलाई यथार्थपरक र प्रेरणादायी अनुभव गरेका छन् ।

 

'कार्साङ' को सफलताले सिर्जनाको करियरलाई नयाँ उचाइमा पुर्‍याएको छ। अब निर्माताहरू र निर्देशकहरूको नजर उनीतर्फ मोडिएको छ । विभिन्न फिल्म प्रस्तावहरूसँगै सिर्जना नेपाली सिनेमा क्षेत्रमा स्थायी स्थान बनाउने बाटोमा अग्रसर भएकी छिन् । 'मैले पहिलो चलचित्रमा धेरै कुरा सिकें,' सिर्जनाले भनिन्, 'अब अझ गहिरो अध्ययन र कडा मेहनतका साथ भविष्यका प्रोजेक्टहरूमा काम गर्नेछु ।'

 

दर्शकले पनि उनीबाट अब थप चुनौतीपूर्ण र विविध भूमिकामा अभिनयको अपेक्षा राखेका छन् । उनको आत्मविश्वास, अभिनयको कौशल, र सिनेमा प्रतिको गहिरो लगावले उनलाई नेपाली फिल्म क्षेत्रको दीर्घकालीन सफल अभिनेत्रीको रूपमा स्थापित गर्ने संकेत दिएको छ ।

 

सिर्जना निङलेकुको यो यात्रा अब मात्र सुरु भएको हो । 'कार्साङ' बाट उनले पाएको प्रशंसा र सफलता नेपाली फिल्म क्षेत्रको नयाँ अध्यायको सुरुआत मानिएको छ ।

 

 

प्रतिकृया दिनुहोस