• आइतबार-पौष-२८-२०८१

नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलालको स्मृतिमा लोकमार्ग घोषणा


रामेछाप । नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलालको स्मृतिमा कृष्णलाल लोकमार्ग नामाकरण गरिएको छ । 


‘मकैको खेती’ नामक ऐतिहासिक कृतिका लेखक स्वर्गीय कृष्णलाल अधिकारीको स्मृतिमा रामेछापको मन्थलीबाट कठजोर हुँदै धोबी पुग्ने सडकलाई ‘कृष्णलाल लोकमार्ग’ नामाकरण गरिएको हो । शुक्रबार सम्पन्न मन्थली नगरपालिकाको १६ औँ नगर अधिवेशनले सो सडकलाई कृष्णलाल लोकमार्ग घोषणा गर्ने निर्णय गरेको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । 


करिब २ किलोमिटर लामो सो सडक प्रदेश सरकार र मन्थली नगरपालिकाको लगानीमा सुधार र विस्तार हुँदै आएको छ । हाल वडा नम्बर–२ को वडा कार्यालय नजिकसम्म सडक कालोपत्रे भएको छ । सडकको थप कालोपत्रे गर्ने काम अघि बढिरहेको छ । 


सुब्बा कृष्णलाल अधिकारीको जन्म  विसं १९४४ साल माघ २४ गते हालको मन्थली नगरपालिका–२ मा कठजोरमा भएको थियो । राणा शासनकालमा सुब्बाको जागिरे कृष्णलालले 'मकैको खेती' नामक पुस्तक प्रकाशन गरेका थिए । सो पुस्तकमा 'मकै खेतीमा राता टाउके र काला टाउके किरा लाग्छन् भनि अधिकारीले लेखेको थिए । 


तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई 'मकै'को खेती'मा लेखिएको काला टाउके भनेको राणाका भाइदार र राता टाउके भनेको प्रधानमन्त्री स्वयंलाई नै भनेको हो भनेर पोल लगाएर कृष्णलाललाई जेल हाल्न उक्साएका थिए । सोही आरोपमा अधिकारीलाई तत्कालीन राणा श्री ३ चन्द्रशमशेरले १९७७ साउन ११ मा ९ वर्ष कैद सुनाए र जेल हालेका थिए । 


नेल र हत्कडीसहित कठोर यातना दिई जेल भित्र राखिएका अधिकारीलाई प्रकाशित सबै पुस्तक बुझाएमा तीन वर्ष कैद मिनाहा गर्ने भनिएको थियो । एक हजार प्रति प्रकाशित गरिएको उक्त पुस्तकका ९ सय ९९ प्रति भेटिए र ती सबै जलाइए । एक प्रति पुस्तक भने नभेटिएको कारण उनको कैद सजाय घटेन । 


जेलमा रहेका अधिकारीलाई क्षयरोग लाग्यो । त्यही रोगले थलिएर अधिकारीको विसं १९८० मा जेलमा नै निधन भयो । कृष्णलालको स्मृतिमा उनको जन्मथलो कठजोरमा अर्ध कदको सालिकसहितको पार्क पनि निर्माण भएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस