• शुक्रबार-पौष-२६-२०८१

रवि लामिछाने तत्काल नछुट्ने, कास्कीपछि काठमाडौं ल्याइने

 

काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन् ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो । कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो । लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन् ।

 

प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको बताए ।

 

लामिछानेलाई काठमाडौंपछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने छ । लामिछानेलाई चितवन, रुपन्देही र पर्सामा सहकारी ठगीको आरोप छ । ‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइन्छ,’ ती प्रहरी अधिकृतले भने ।

प्रतिकृया दिनुहोस