• बिहीबार-पौष-२५-२०८१

सेमलार बृहत कृषि बजार: नेपालको कृषि समृद्धिका लागि नयाँ अभियान

काठमाडाैं । नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने एक महत्वपूर्ण परियोजना कोरियाको सेमलार बृहत कृषि बजारको परिकल्पना गर्दै आगामी दिनहरूमा कृषि उत्पादनको संकलन, भण्डारण, प्रशोधन, प्याकेजिंग र निर्यात प्रक्रियामा क्रान्तिकारी सुधार ल्याउने तयारी सरकारबाट गरिएको छ।


  अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र शहरी विकास मन्त्रालयका परियोजना सम्बद्ध अधिकारीहरूसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस सन्दर्भमा गम्भीर छलफल गरेका छन्।

 

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय विकास कोष (IFAD) को सहकार्यमा सञ्चालन हुने यस परियोजनाले सेमलार बृहत कृषि बजारलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बनाउने उद्देश्य राख्दछ ।

 

यस परियोजनाले बुटवल उपमहानगरपालिका वडा नं. १५ मा प्रस्तावित जग्गामा भोगाधिकार प्राप्त गरेर, शहरी विकास मन्त्रालयको नेतृत्वमा भौतिक पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढाउँदैछ।

 

सेमलार बृहत कृषि बजारको स्थितिको कारण, यो पश्चिम नेपालका अधिकांश क्षेत्रबाट यातायातको दृष्टिले निकै सहज पहुँचमा छ। यसले कृषकका उत्पादनहरूलाई दक्षतापूर्वक संकलन, भण्डारण, प्रशोधन, प्याकेजिंग र लेबलिंग गरेर नेपालका आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन मद्दत पुर्याउने अपेक्षा गरिएकाे छ।

 

विशेष रूपमा, भैरहवास्थित सिद्धार्थ गौतमबुद्ध विमानस्थलबाट विदेश निर्यात गर्ने सम्भावनाले नेपालका व्यवसायिक कृषिलाई एक नयाँ आयाम दिन्छ।

 

यस परियोजनामा समावेश अन्य विभिन्न कृषि सम्वन्धी कार्यक्रमहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० पालिकामा सञ्चालन हुनेछन्, जसबाट ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

 

यो परियोजना नेपालको कृषि क्षेत्रको दीर्घकालीन समृद्धिका लागि महत्वपूर्ण कदम साबित हुनेछ।

 

 

प्रतिकृया दिनुहोस