• बिहीबार-पौष-२५-२०८१

पर्सामा वाइफाई विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

 

पर्सा । पर्सामा ८० वर्षीय हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनीलाई पक्राउ गरिएको छ।

 

पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८, जगतपुर निवासी २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवान रहेका छन्।

 

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो। आरोपअनुसार, सोमबार राति ८० वर्षीय हजुरबुवा रामजान देवानमाथि कुटपिट गरेका थिए।

 

कुटपिटको क्रममा गम्भीर घाइते भएका रामजानलाई तत्काल वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल, वीरगञ्ज लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको लम्सालले जानकारी दिए।

 

विवादको कारण वाइफाई


‘अनुसन्धानका क्रममा घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवामाथि कुटपिट भएको खुल्न आएको छ,’ लम्सालले भने। ‘सामान्य विवादका क्रममा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

 

प्रहरीका अनुसार, हजुरबुवाले वाइफाई बन्द गर्न नाति-नातिनीलाई आग्रह गरेका थिए। सोही विषयमा असहमति जनाउँदै नाति-नातिनीले हजुरबुवामाथि कुटपिट गरेका थिए।

 

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले घटनामा संलग्न दुवैलाई पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस