• शनिबार-मङ्सिर-२९-२०८१

मधेश प्रदेश स्थानीय तहका कर्मचारी आन्दोलनमा

जनकपुरधाम, २९ मङ्सिरः मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

 

    प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमाधमा धर्नामा बसेका छन् ।

 

    पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीहरूको गुनासो छ ।

 

    एक वर्षअगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलनमा उत्रेको स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले बताउनुभयो ।

 

सुरुदेखि नै पटकपटक समस्या समाधानका लागि माग गरिए पनि प्रदेश सरकारले पदस्थापना नगरेको उहाँले बताउनुभयो । यहाँ स्थानीय तहका एक हजार कर्मचारी कार्यरत रहेका बताइएको छ ।

 

    सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीहरूको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना नभएको सलौराले भन्नुभयो । पदस्थापना नभएकाले थप सेवासुविधासमेत पाउन समस्या भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।
---

प्रतिकृया दिनुहोस