• मंगलबार-मङ्सिर-४-२०८१

सुदूरपश्चिम रोयल्स र एसपीएबीच सम्झौता



सुदूरपश्चिम,४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

 

सम्झौतापछि आज क्लबका मालिक स्वतन्त्रप्रताप शाहले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य लिइरहँदा एसपीएसँग सहकार्य गर्न पाउनु उपलब्धिपूर्ण भएको बताउनुभयो । एसपीएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
  

एसपीएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन एसपिएले निरन्तर योगदान दिइरहेको छ । 

 

‘सुदूरपश्चिम रोयल्स’को टोलीलाई सोमबार धनगढीमा स्वागत गरिएको थियो । यसअघि एनपिएलका लागि फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल्स’ले धनगढीको क्रिकेट मैदानमा ‘ट्यालेन्ट हन्ट’ पनि पूरा गरिसकेको छ । रोयल्सले धनगढीको फाप्ला खेल मैदान र महेन्द्रनगरमा बन्द प्रशिक्षण थालेको छ ।  

 

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई  अनुबन्ध गरिसकेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ हुनुहुन्छ । यही मङ्सिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपीएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा हुनुहुन्छ । 

 

आठ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । उहाँ सुदूरपश्चिमवासी हुनुहुन्छ । 
---

 

 

प्रतिकृया दिनुहोस