• शुक्रबार-पौष-१९-२०८१

गृह मन्त्री लेखक र सचिव दुवाडीको कमाल : जिम्मेवारी नै नपाई पाँच आउट, तीन सहसचिव इन

 

काठमाडौं । गृह सचिव गोकर्णमणी दुवाडी र मन्त्री रमेश लेखकले एमाले र माओवादी केन्द्र निकट पाँच सहसचिवहरूलाई लामो समयसम्म जिम्मेवारी नदिएर थन्क्याएर राखेकाहरुलाई मन्त्रालयबाट अन्यत्र सरूवा गराएका छन् । तीनजना नेपाली कांग्रेस निकट भनिने सहसचिवहरूलाई केही दिन अगाडि मात्र मन्त्रालयममा भित्र्याएका छन् । गृहबाट लखेटिने सहसचिवहरूमा एमाले निकट भनिने अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, माओवादी केन्द्र निकट भनिने काठमाडौंका निवर्तमान प्रजिअ जितेन्द्र बस्नेत रहेका छन् ।


यसैगरी, धादिङका  निवर्तमान सिडिओ राजेन्द्र देव पाण्डे, प्युठानका निवर्तमान प्रजिअ नारायण प्रसाद अर्याल र जयकुमार घिमिरे छन् । सहसचिव निरौलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । बस्नेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । सहसचिव पाण्डेलाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेशमा पु¥याइएको छ । सहसचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र घिमिरेलाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मधेस प्रदेशमा सरूवा गरिएको छ ।


२०८१ कात्तिक  चार गते सरूवा गरिएका सहसचिवहरूले गृहमा लामो समय कुनै जिम्मेवारी नपाइ बरण्डाबाट नै अन्य मन्त्रालय र प्रदेशतिर लखेटिए । मन्त्रालयमा भित्र्याइएका सहसचिवहरुमा उपराष्ट्रपति कार्यालयमा कार्यरत तोयानारायण सुवेदी, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट दीर्घबहादुर पोखरेल रहेका छन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशमा कार्यरत सहसचिव विनोद कुमार खड्का पनि मन्त्रालयमा भित्रिएका छन् । मन्त्री लेखकको रोजाईमा परेर मन्त्रालयमा भित्रिएका सहसचिवलाई विभिन्न आकर्षक जिल्लामा प्रजिअको जिम्मेवारीसहित खटाउने तयारी भइरहेको बताइएको छ ।


सम्भवत तिहार अगाडि नै मन्त्रालयको बरण्डामा रहेका र नयाँ भित्र्याइएका सहसचिवहरुलाई जिम्मेवारीमा खटाइने मन्त्रालय स्रोतले जानकारी दिएको छ । एमाले र कांग्रेस निकट भनिने सहसचिवहरुलाई भागबण्डाका आधारमा विभिन्न जिल्ला खटाउने तयारी भइरहेको स्रोत बताउँछ । ललितपुर, रूपन्देही, मोरङ, पर्सा, झापा, सुर्खेत, तनहुँ, रौतहट, कपिलवस्तु र संखुवासभालगायतका जिल्लाको भागबन्डा नमिलेको मन्त्रालय स्रोतको दाबी छ । 


मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा बरण्डामा रहेका सहसचिव गोविन्द प्रसाद रिजाललाई खटाएको छ । चितवनमा कार्यरत प्रजिअ ईन्द्रदेव यादवलाई मन्त्रालय तानेर करिब एक महिनादेखि बरण्डामा रहेका सहसचिव प्रकाश पौडेललाई पठाइएको छ । 


प्रधानमन्त्री ओलीको पुतला दहनपछि...!
  रास्वपाका अध्यक्ष रवि लामिछानेलाई सरकारले सहकारी अपचलन र ठगीमा पक्राउ गरेर अनुसन्धान गर्दैछ । त्यसपछि रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर चितवनको नारायणी नदी किनारमा जलाएका थिए । यो विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले बल प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको, ‘कमजोर कडी’ भन्दै मन्त्रालयले प्रजिअ ईन्द्रदेव यादवसहित प्रहरीका एसपी भावेश रिमाललाई फिर्ता बोलाएको थियो ।


नेपाल प्रहरी एसपी गौतम मिश्रलाई चितवनमा खटाएको छ । त्यस्तै मोरङको एसपी सरूवामा पनि विवाद चर्किएको छ । असुली विवादमा परेर तानिएको आरोप लागेका मोरङका एसपी नवराज कार्कीको ठाउँमा आईजीपी वसन्त बहादुर कुँवरले प्रधानमन्त्री ओलीका पूर्व पिसिओ राजन लिम्बूलाई काजमा खटाएकोमा गृहमन्त्री लेखकले असन्तुष्टि जनाएपछि उनलाई चार दिनमै फिर्ता बोलाएर एसपी नारायण प्रसाद चिमोरियालाई पठाइएको छ । यसले प्रहरी संगठनको नेतृत्वले सही अडान राख्ने र फोर्सको मनोबल उच्च राख्ने ढंगले कमाण्ड सञ्चालन गर्न नसकेको भनी आईजीपी कँुवरको आलोचना हुने गरेको छ ।


यसअघि गृहले सोलुखुम्बुको प्रजिअ रहेकी देवी पाण्डे खत्रीलाई मन्त्रालय तानेर इलाका प्रशासन कार्यालय धरानमा कार्यरत अनुज घिमिरेलाई जिम्मेवारीमा खटाएको थियो । उनलाई पनि मन्त्रालय तानिएको छ । पाण्डे सोलुमा गएको ११ महिना बितेकोले सरूवा गरिएको स्रोतले बताएको छ । मन्त्रालयले किस्तावन्दीमा प्रजिअ र सहायकको सरूवा गर्दै आएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएको बुझिएको छ । एकै पटक र एउटै लटमा गर्ने सरूवालाई पनि पटक–पटक गरेर मन्त्रालयको नेतृत्वले गृह प्रशासनलाई अस्थिर बनाएको आरोप खेप्दै आएको छ । 


लामो समयपछि मन्त्रालयले केही दिनयतादेखि बरण्डामा रहेका सहसचिव र केही उपसचिवहरूको सरूवा गरेर जिम्मेवारी दिने अभियान शुरु गरेको बताइन्छ । अधिकृतदेखि उपसचिवस्तरका कर्मचारीलाई महिनौँदेखि जिम्मेवारी नदिई राखिएको विषयमा चौतर्फी आलोचना भएपछि जिम्मेवारी दिन थालिएको स्रोत बताउछ । आकर्षक जिल्लाको प्रजिअ र इलाका प्रशासन कार्यालयमा सरूवाका लागि  शक्ति केन्द्रहरूबाट सचिव दुवाडी र मन्त्री लेखकलाई निरन्तर दबाब बढ्दै गएको चर्चा पनि छ । जसका कारणले सरूवा व्यवस्थापनमा ढिलाई भैरहेको स्रोतले दाबी गरेको छ ।


मन्त्रालयले २०८१ कार्तिक ७ गते मातहतका  ६ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । उपसचिव तेजराज शर्माको इलाका प्रशासन कार्यालय सिमरा बारा, खिमलाल भुसालको कारागार कार्यालय पर्सामा सरुवा गरिएको छ । उपसचिव देवी पाण्डे खत्रीको जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । उपसचिव विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीलाई इलाका प्रशासन कार्यालय धरान सुनसरीमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२) 
 

प्रतिकृया दिनुहोस