• मंगलबार-कार्तिक-६-२०८१

एक सातामा रुपन्देहीबाट लाखौंको अवैध सामान नियन्त्रणमा

 


भैरहवा । चाडपर्वको समयमा तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै अवैध ओसारपसार गरिरहेका छन्। प्रशासनले सुरक्षा व्यवस्थापन, चोरी, तस्करी र अवैध ओसारपसार नियन्त्रणका लागि योजना बनाएर खटिएको छ।

 

भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी अवैध ओसारपसार न्यूनिकरणमा लागिरहँदा पनि तस्करहरूले विभिन्न मौकामा अवैध ओसारपसार गरिरहेका छन्। सोही क्रममा एक सातामा मात्रै लाखौंको सामान रुपन्देहीबाट बरामद भएको छ।

 

सोमबार अवैध रूपमा नेपाल भित्रिएको ४७१ बोरा चिनी दुई वटा गोदामबाट नियन्त्रणमा लिइएको छ। भन्सारको कामसँगै तस्करी नियन्त्रणमा लागेको भन्सार कार्यालयले सूचनाको आधारमा अवैध सामान नियन्त्रणमा लिएको छ। हालै भन्सार कार्यालयको प्रमुखका रूपमा आएका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको नेतृत्वमा टोलीले सक्रिय रूपमा निगरानी बढाउँदै अवैध वस्तु नियन्त्रणमा लिएको छ।

 

विशेष सूचनालाई आधारमा भन्सार कार्यालय प्रमुख र सशस्त्र प्रहरी बल नेपाल बीओपी, डण्डा (प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही)ले संयुक्त टोलीले भारतबाट भैरहवामा भित्रिएको अवैध चिनीको गोदाम नियन्त्रणमा लिएको हो।

 

संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिकाका–४ स्थित गल्लामण्डी सुगरमिल क्षेत्रमा रहेको दुई वटा गोदामबाट ४७१ बोरा अर्थात् २३,५०० किलो अवैध चिनी नेपाली बोरामा प्याक गरी भण्डारण गरेको अवस्थामा बरामद गरिएको भन्सार प्रमुख रेग्मीले जानकारी दिए।

 

"हामीले नियमित कामसँगै अवैध निकासी–पैठारी नियन्त्रणका लागि पनि संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई आधार बनाएर काम गरिरहेका छौं, जसको फलस्वरुप सोमबार ठूलो मात्रामा अवैध चिनी बरामद भएको छ," भन्सार प्रमुख रेग्मीले भने।

 

"हामीसँग भएको सिमित जनशक्तिबाट अधिकतम प्रयोग गरी सुरक्षाका लागि सशस्त्र प्रहरी बलको सहयोग र समन्वयमा काम गरिरहेका छौं।" भन्सार र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीका प्रमुख डीएसपी चन्द्रकुमार थापाको कमाण्डमा खटिएको टोलीको विशेष निगरानीले १५ लाखभन्दा बढीको अवैध चिनी बरामद गरेको हो।

 

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकल, मोटरसाइकल, रिक्सामा भन्सार छलेर थोरै-थोरै परिमाणमा सामग्री भित्राएर डम्प गर्ने गर्दछन्। नोपली बोरामा ती सामान प्याक गरी ठूलो परिमाणमा पछि बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्छन्।

 

यस्तै बिहीबार पनि सिमेन्टको ट्रकमा १२ पोका कपडा नियन्त्रणमा आएको छ। भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याइएका कपडा नेपाली सिमेन्टसहित नियन्त्रणमा लिइएको छ। रुपन्देहीको सियारी गाउँपालिकाको धम्सर क्षेत्रबाट ना ६ ख ७६०५ नम्बरको ट्रकमा अगाडि सिमेन्ट राखी लुकाएर कपडा लैजादै गरेको विशेष सूचना प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत आएपछि सशस्त्र प्रहरीको टोलीले सो सामान ट्रकसहित नियन्त्रणमा लिएको हो।

 

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश अमुवाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने बुटवल सडक खण्डमा रोकी राखेको सिमेन्ट बोकेको ट्रकबाट लेडिज कुर्ता, सलवार, जुत्ता चप्पल र सिद्धार्थ सिमेन्टसहित ट्रक नियन्त्रणमा लिएको छ, जसको मूल्य ५३ लाख ४ हजार रहेको छ। भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्रिएका यी सामान नियन्त्रणमा लिइएको छ र आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको छ।

 

बरामद कपडा तौलन भनिने राधेश्यामको भन्ने बुझिएको छ, यसअघि पनि उनको सामान नियन्त्रणमा आएको थियो। मोटरसाइकलबाट सीमा पार गरी विभिन्न नाकाबाट अवैध रूपमा कपडा भित्र्याई उनले जिल्लाबाहिर कपडा पठाउने गर्छन्।

 

तस्करहरू विभिन्न नाकाबाट तस्करी गरे पनि प्रशासनको समन्वयमा भएको सुरक्षा चेकजाँचले उनीहरूलाई निरुत्साहित गर्ने योजनामा छ।

प्रतिकृया दिनुहोस