🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खुशी नयाँ अनुहारमा होइन, नतिजामा देखिनुपर्छ

'हाँसो केवल भावना होइन, सामाजिक अन्तरक्रियाको एउटा महत्वपूर्ण माध्यम पनि हो ।'

हरेक वर्ष मार्च २० मा मनाइने विश्व खुसी दिवसले मानिसलाई खुसीको वास्तविक अर्थ र महत्वबारे पुन सोच्न प्रेरित गर्छ । खुसी केवल अनुहारमा देखिने मुस्कान मात्र होइन, यो मानिसको अन्तरआत्माको सन्तुष्टि, आशा र जीवनप्रतिको सकारात्मक दृष्टिकोणसँग जोडिएको गहिरो अनुभूति हो । तर नेपालजस्तो देशमा खुसी व्यक्तिगत भावना मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय बनिरहेको छ । यहाँका नागरिकले दैनिक जीवनका साना–साना क्षणहरूमा खुसी खोज्ने प्रयास गरेपनि समग्र परिवेशले त्यो अनुभूति दिगो रूपमा कायम राख्न सकेको देखिँदैन ।

उदाहरणकै लागि प्रसंग जोड्नुपर्दा विनाशकारी गोरखा भूकम्प २०७२ ले नेपाली समाजमा गहिरो मानसिक र भावनात्मक असर छोडेको थियो र छ । धेरै मानिसका मन अझै पनि पीडाले भरिएका छन् । बाहिरबाट हाँसो देखिए पनि भित्रको पीडा अझै मेटिएको छैन । तर हाँस्नु मानव जीवनको प्राकृतिक र आवश्यक पक्ष हो । त्यस्तै, प्राकृतिक विपत्ती, कोभिडजस्ता महामारीहरुले मानिसको खुसी खोस्ने गर्छ र पीडा दिने गर्छ । त्यस्तोबेला खुसी कसरी फर्काउने भन्नु मुख्य चुनौती बन्ने गरेको छ ।

बाटोमा हिंड्दै गरेको कुनै व्यक्ति एक्लै हाँस्दा त्यसले अरूलाई पनि प्रभावित बनाउँछ । समूहमा हाँस्ने मानिसहरूबीच मिसिँदा अपरिचित व्यक्ति पनि सहजै हाँस्न थाल्छ । यसले देखाउँछ कि हाँसो संक्रामक हुन्छ, र यसले मानिसबीच सम्बन्ध र आत्मीयता बढाउँछ ।

साँचो कुरा के हो भने, हाँस्न सिक्नु पर्दैन । यो जन्मजात स्वभाव हो । नवजात शिशुले पनि बिना कारण मुस्कान दिन सक्छ । समाजमा हाँसोका विभिन्न रूप देखिन्छन कसैले खुसीले, कसैले तनाव कम गर्न, त कसैले केवल बानीले हाँस्ने गर्छन् । कतिपय मानिसको हाँसो अरूका लागि आकर्षणको विषय पनि बन्छ । हाँसो केवल भावना होइन, सामाजिक अन्तरक्रियाको एउटा महत्वपूर्ण माध्यम पनि हो ।

तर पछिल्लो समय नेपाली समाजमा राजनीतिप्रति बढ्दो निराशाले मानिसको मनोविज्ञानमा नकारात्मक असर पारिरहेको छ । बारम्बार राजनीतिक परिवर्तनका प्रयास भएपनि अपेक्षित परिणाम नआउँदा जनतामा असन्तुष्टि बढ्दै गएको छ । नयाँ अनुहार र नयाँ पार्टीप्रति आशा त देखिन्छ, तर ती आशा व्यवहारमा कति पूरा हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ । यसले जनतालाई केवल नेतृत्व परिवर्तन होइन, नतिजामुखी शासनको आवश्यकता महसुस गराएको छ ।

नेपाली जनता साँचो अर्थमा खुसी तब हुन्छन्, जब उनीहरूले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउँछन् । आज हजारौँ युवा विदेशिन बाध्य छन्,। जसले परिवार, समाज र राष्ट्रलाई दीर्घकालीन असर पारिरहेको छ । यदि स्वदेशमै अवसर सिर्जना गरिएर युवालाई आत्मनिर्भर बन्ने वातावरण निर्माण गर्न सकियो भने त्यो नै खुसीको सबैभन्दा ठूलो आधार बन्न सक्छ । आर्थिक स्थिरता र आत्मसम्मानले मानिसको जीवनमा स्थायी सन्तुष्टि ल्याउँछ ।

यससँगै देशमा शान्ति, स्थिरता र सुरक्षाको अनुभूति हुनुपनि नागरिकको खुसीका लागि अत्यन्त आवश्यक छ । जब मानिसले आफू सुरक्षित महसुस गर्छन्, तब मात्र उनीहरू स्वतन्त्र रूपमा आफ्नो जीवन जिउन सक्छन् । तर समाजमा विद्यमान अन्याय, हिंसा र कु–प्रथाले यो अनुभूतिलाई कमजोर बनाइरहेको छ । विशेषगरी बलात्कारजस्ता जघन्य अपराधहरूले समाजमा भय र आक्रोश सिर्जना गरेका छन् ।

यस्ता अपराधको अन्त्य, पीडितलाई न्याय र दोषीलाई कडा दण्ड सुनिश्चित गर्नु राज्यको प्रमुख जिम्मेवारी हो । जब नागरिकले न्याय पाउँछन्, तब मात्र उनीहरूको राज्यप्रति विश्वास बलियो बन्छ । न्यायपूर्ण समाजले मात्र दीगो खुसीको आधार तयार गर्न सक्छ । अन्यथा, असमानता र अन्यायले मानिसको मनमा निराशा र असन्तुष्टि बढाउँदै लैजान्छ ।

सामाजिक कुप्रथाहरूको अन्त्य र सकारात्मक सोचको विकास पनि खुसीको महत्वपूर्ण आधार हो । शिक्षा, जनचेतना र समानताको अभ्यासले मात्र समाजलाई सही दिशामा अघि बढाउन सक्छ । जब मानिसहरूले एकअर्कालाई सम्मान गर्न सिक्छन् र सहकार्यको भावना विकास हुन्छ, तब समाजमा समृद्धि र सन्तुष्टि दुवै बढ्छन् ।

खुसी व्यक्तिगत अनुभूति मात्र होइन, यो राम्रो शासन, न्यायपूर्ण समाज र आर्थिक अवसरहरूको समिश्रण हो । नेपालमा खुशीको वास्तविक आधार तब निर्माण हुनेछ, जब राजनीति उत्तरदायी, समाज समावेशी र नागरिक भविष्यप्रति आशावादी हुने वातावरण सिर्जना हुनेछ । त्यसैले विश्व खुशी दिवसको सन्देश स्पष्ट छ । हामीले खुशी खोज्ने होइन, सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *