काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाबाट दलाई लामा सन १९५९ मार्च १७ मा भागेर ३१ मार्चमा भारतमा निर्वासित जीवन व्यतित गरिरहेका छन् । १४औं दलाई लामाको ८९औं जन्म दिन २०८१ असार २२ गते बिहान ८ देखि १०ः३० बजेसम्म बौद्व तीनचुलीस्थित ह्याल्मो समाज सेवा केन्द्रमा भब्यरूपमा मनाएको समाचार बाहिर आएको छ । उक्त कार्यक्रममा जावलाखेल, स्वयम्भू, लाजिम्पाट र बौद्व क्षेत्रका तिब्बतीयन वरिष्ठ नेताहरूसहित तीनसय भन्दा बढी शरणार्थीहरूको उपस्थिति रहेको गृह प्रशासन स्रोतले जानकारी दिएको छ ।
लामाको जन्म दिन मनाउन नेपालका लागि अमेरिकी राजदूत, अष्ट्रेलिया दूतावासका प्रतिनिधिका रूपमा सेकेण्डमेनसमेत उपस्थित भएको स्रोतले बताएको छ । अमेरिकी राजदूत ६१ सीडी १ नम्बरको गाडीबाट झण्डा नफर्फराई कार्यक्रममा उपस्थित भएको स्रोतले जानकारी दिएको छ । अमेरिकी राजदूत उक्त कार्यक्रममा करिब डेढ घण्टा जति बसेको स्रोतको भनाई रहेको छ । सो कार्यक्रममा अष्ट्रेलिया दूतावासका दोस्रो तहका कूटनीतिज्ञ भने १ सीडी २ नम्वर र अमेरिकी दूतावासका कूटनीतिज्ञ ६१ सीडी २२२ नम्बरको गाडी चढेर कार्यक्रमस्थल पुगेको सम्वद्ध स्रोतले बताएको छ । ती कूटनीतिज्ञहरु पनि कार्यक्रम अवधिभर बसेको स्रोत बताउँछ ।
स्रोतका अनुसार, दलाई लामाको ८९औं जन्म दिनका अवसरमा केक काट्ने, तिब्बतीयन स्वतन्त्रताको गीत गाउने, सांस्कृतिक कार्यक्रम रहेको थियो । १४औं दलाई लामाको दीर्घायुको कामना गर्दै विशेष पूजा गरी जन्म दिन मनाएको स्रोतले बताएको छ । सोही दिन साँझ बौद्व, कपन, स्वयम्भू र जावलाखेलसहितका प्रायः सबै गुम्बाहरूमा दीप प्रज्वलन गरी दलाई लामाको जन्म दिन मनाएको स्रोतले दावी गरेको छ ।
जन्मोत्सव कार्यक्रममा मानव अधिकारको नाममा अमेरिका र पश्चिमा राष्ट्रहरूबाट डलर संकलन गर्न माहिर मानिएका नेपाल मानव अधिकार संगठनका सभापति महामुनिश्वर आचार्य, कपिल श्रेष्ठ र भवानी खरेल पनि सहभागी रहेको सुरक्षा स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ असार २४)



