महोत्तरी, १७ असोज (रासस) : महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख गोलमाल भएको खुलासा भएको छ ।नगरपालिकाको बैंक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते रु ९० लाख निकालेको रहस्य सार्वजनिक भएको हो ।
कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिइकन खाताबाट रु एकसमेत नराखी खाता निल गरी निकालिएको खुलासा भएको छ । भदौ २९ गते कर्मचारीलाई तलबका लागि चेक काटेपछि खातामा पैसा नरहेको जानकारी नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले दिए । खातामा पैसा नरहेको जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा एकै दिन रु ९० लाख झिकिएको सनसनीपूर्ण खुलासा भएको हो ।
कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त थिए। प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलिभगतमा नगरपालिकाको सो रकम गोलमाल भएको हो ।
नगरपालिकाको खाताबाट एकैसाथ रु ९० लाख निकालिएको हो, गौशाला नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पत्रकारसँग कुराकानी गर्दै भने , “पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन ।” गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा रु दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म आफूलाई प्राप्त नभएको उनले बताए ।



