काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल २०७५ पुस १८ मा पूरा हुँदैछ । उनको अवकाशसँगै २७ औं प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया निकट भविष्यमै सुरु हुँदैछ । यसअघि कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन नगरेपछि मिश्र प्रधानन्यायाधीश भएका हुन् । प्रधानन्यायाधीश मिश्रको अवकाशपछि को प्रधानन्यायाधीश हुन्छ भन्ने द्विविधाग्रस्त अवस्था छ ।
सुुनुवाइ समितिबाट अस्वीकृत भएता पनि जोशी अदालतमा मुद्दा हेरिरहेका छन् । अहिले पनि बरिष्ठतम न्यायाधीश जोशी हुन् । मिश्रको अवकाशपछि उनी स्वतः निमित्त प्रधानन्यायाधीश हुने देखिन्छ । तर अर्का विवादित न्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशका दाबेदार देखिएका छन् । उनी आफू मिश्रपछि निमित्त प्रधानन्यायाधीश हुनका लागि लागेका छन् ।
मिश्रको अवकाशपछि को प्रधानन्यायाधीश बन्ने भन्ने अन्योलग्रस्त अवस्था न्यायालयमा छ । न्यायाधीश राणाको छवि पनि आमजनमानसमा राम्रो छैन । गोपाल पराजुली, दीपकराज जोशीभन्दा राणा अझ विवादित मानिन्छन् । उनले नेपाल ट्रष्टमा गइसकेको अरबौं मूल्यको घरजग्गा पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको नाममा कायम हुने फैसला गरेका थिए । जनताको बलिदानबाट विस्थापित राजा र दरबारको पक्षमा गरेको उक्त फैसलाका कारण न्यायालय नै विवादमा परेको थियो । तर पछि सुशीला कार्की प्रधानन्यायाधीश भएपछि उक्त मुद्दा पुनरावलोकन गरी नेपाल ट्रष्टकै नाममा उक्त घरजग्गा कायम हुने फैसला भएको थियो ।
पदमा बसेर करोडौं भ्रष्टाचार गरेका मुद्दामध्ये एक चर्चित मुद्दामा उनको समेत संलग्नतामा गम्भीर लापरबाही र गल्ती गरेकाले कारबाही हुनुपर्ने सर्वोच्च अदालतले नै फैसला गरेको छ ।
२०६८ फागुन ९ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले जयप्रकाशप्रसाद गुप्ताले मन्त्री, संसदीय समितिको सभापति, सांसद, प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्ता पद सम्हाल्दा गरेको भ्रष्टाचारबारे परेको उजुरीको एक फैसलामा स्पष्टसँग उल्लेख गरिएको छ–विशेष अदालतको फैसला उल्टी भई प्रतिवादीलाई संजाय हुने ठहरी फैसला भएको र विशेष अदालतमा फैसला गर्ने न्यायाधीशहरुले मिसिल संलग्न प्रमाणको मूल्यांकनमा गम्भीर लापरबाही र त्रुटी गरी जसरी भए पनि प्रतिवादीलाई सफाइ दिने भावनाबाट ग्रसित भई प्रतिवादीले बयानमा जिकिर लिएभन्दा बढी तथा बयानमा जिकिर नै नलिएका शीर्षकहरुबाट पारिश्रमिक आयलाई मान्यता दिएको, बैदेशिक भ्रमणभत्ताको रकमलाई पनि दोहोरो हिसाब गरी आयलाई मान्यता प्रदान गरेको, बैदेशिक भ्रमणबापत आय दिएको रकममध्येबाट बचत हुने ७० प्रतिशतलो गणना गर्दा समेत प्रतिवादीलाई लाभ पुग्नेगरी अंक कायम गरेको, जग्गाभाडाबाट आय प्राप्त भएको भनी प्रतिवादीले बयानमा जिकिर लिएभन्दा बढी आयलाई मान्यता दिएको समेतबाट न्याय सम्पादनको कार्यमा बिचलित भएको प्रष्ट देखिएको हुादा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि यो फैसलाको प्रतिलिपीसहित न्याय परिषद सचिवालयमा लेखी पठाउनू ।’
गुप्ताले पदीय दुरुपयोग गरी ८४ लाख ९ हजार ९ सय २८ पैसा भ्रष्टाचार गरेको ठहर गरी बिगो भराई १ बर्ष ६ महिना कैद संजाय ग¥यो । तर गुप्तालाई २०६४ जेठ २८ मा सफाइ दिने विशेष अदालतका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणा, भूपध्वज अधिकारी र कोमलनाथ शर्मामाथि सर्वोच्चको फैसला अनुसार कुनै कारबाही भएन । उल्टै सुशील कोइराला प्रधानमन्त्री र नरहरि आचार्य कानुन मन्त्री हुँदा उनलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्ति गरियो ।
जसका कारण अहिले न्यायालयप्रतिको जनविश्वासमा ह्रास आइरहेको छ । राणा विशेष अदालतको न्यायाधीश भएको समयमा अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेका पूर्वमन्त्रीहरु गोविन्दराज जोशी, स्व. खुमबहादुर खड्का लगायत राजस्व समूहका भरतराज सुवेदी, सुरेश रेग्मीहरुलाई सफाइ दिएका थिए ।
तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले अर्थमन्त्रालय अन्तर्गत राजस्व समूहका २२ भाइ बिरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले अधिकांशलाई सफाइ दिएको थियो । जसका कारण न्यायालयप्रति नै जनमानसमा नकारात्मक छाप पर्न गएको छ ।
राणाको पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्ति पनि विवादित छ । तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रबहादुर सिंहलाई नक्कली जन्ममितिको आरोपमा राणाले मुद्दा दायर गरे । त्यो मुद्दा फिर्ता लिएबापत सिंहले उनलाई पुनरावदेन अदालतको न्यायाधीश बनाएको भन्ने न्यायक्षेत्रमा सबैलाई थाहा छ ।
काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकार रहेको समयमा सिंहबिरुद्ध उनले मुद्दा दायर गरी न्यायाधीश नियुक्त भएका हुन् । उनको कनेक्सन सुन तस्करदेखि क्यासिनो संचालकहरुसम्म छ । क्यासिनोको मुद्दा संवैधानिक इजलासमा विचाराधीन हुँदा संयुक्त इजलासबाट निर्णय गरी कार्यक्षमताको कमी र प्रभावित भएको देखिन्छ ।
भावी प्रधानन्यायाधीश दाबी गर्दैआएका राणाका बारेमा यी र यस्ता धेरै प्रश्नहरु उठिरहेको छ । सर्वोच्च अदालतको नेतृत्व शुद्ध भएमात्र देशमा धेरै कुरा सुधार हुन्छ । सुशासन कायम गर्न सहयोग पुग्छ । यस कुरामा गम्भीर भएर न्यायपरिषद र संवैधानिक परिषदले न्यायिक नेतृत्व सिफारिस गर्ने अपेक्षा सबैले गरेका छन



