काठमाडौँ । सरकारले तीन सातादेखि पाँच दर्जन सहसचिवहरूको सरुवा गर्न निकै प्रयास गर्दै आएको थियो । बल्लबल्ल प्रधानमन्त्री तथा मन्त्रपरिषद कार्यालयले २०८१ बैशाख २७ गते बिहीवार गरेको सरूवाको निर्णयलाई बैशाख ३० गते मुख्यसचिव डा. बैकुष्ठ अर्यालले प्रमाणिकरण गरेर वैशाख ३१ गते सार्वजनिक गरिएको छ । सहसचिवहरूको सरूवा र पदस्थापनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका अध्यक्ष, वरिष्ठ नेताहरूको दबाब परेको चर्चा चल्दै आएको छ ।
मुख्यसचिव डा. बैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका मन्त्री, उपप्रधानमन्त्री र सचिवहरुले सहसचिवहरुको सरुवमा चलखेल गरेको गुनासो निजामती प्रशासन सेवामा बढेको छ । आकर्षक विभाग, मालदार कार्यालय, आयोजनाहरुमा आफू निकट र अनुकूलका कर्मचारी लैजाने चाहनाले सहसचिवहरूको सरूवा प्रक्रिया नै लामो समयदेखि अल्मलिने गरेको प्रशासनका जानकारहरु बताउँछन् ।
अघिल्लो हप्ता गरिएको सरूवाको सूची पनि सोर्सफोर्स, शक्ति केन्द्रको दवावमा पटक पटक संशोधन र हेरफेर गरेर तलमाथि गरिएको थियो । जसका कारण पटक पटक अवसर पाएका सहसचिवले पुन आकर्षक मन्त्रालय, विभाग र निकायको जिम्मेवारीमा पुग्ने मौका पाएका छन् । कतिपयले भने सरुवाको नाममा नाम मात्रको कामकाजविहीन निकायमा सरुवा हुनु परेको भन्दै पुर्पुरोमा हात राख्नुपर्ने बाध्यता आइलागेको गुनासो गरेका छन् ।
निर्णय सार्वजनिक गर्न किन अलमल ?
बैशाख २७ गतेको मन्त्रिपरिषद बैठकले गरेको सहसचिव सरूवाको निर्णयलाई ढिलो गरी ३० गते सरूवा प्रमाणिकरण गरिएको थियो । सरूवाको फाइल तीन सातासम्म एक दर्जन पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्दै र फर्किंदै गरेको समाचार स्रोतले जनाएको छ ।
उपसचिवबाट २०८१ बैशाख २० गते बढुवा भएर सहसचिव भएका नयाँ सहसचिवहरूको मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको छ । उनीहरुको पदस्थापन, कामकाज तथा सरुवा निर्णयमा सहमति हुन नसक्दा सरूवा निर्णय थाती रहँदा केही ढिलाई हुन पुगेको स्रोतको दावी रहेको छ । तर, उक्त नामावलीमा १० दिनसम्म केही फेरबदल गरेर मात्र सरूवा सदर गरिएको बताइएको छ ।
सामान्य प्रशासन मन्त्रालयले अन्तर निकाय र अन्तर प्रदेशका सहसचिव सरूवा र पदस्थापनमा आधा दर्जन पटक सूची थपघट र संशोधन गरेको बताइन्छ । उक्त मन्त्रालयले मन्त्रिपरिषदमा पठाइएको सूचीलाई सदर गराउने विषयमा अलमल भएपछि कर्मचारी प्रशासनका उपसचिव, सहसचिवलाई लिएर सचिव मुकुन्द निरौलासहितको टोली २०८१ बैशाख ३० गते मुख्यसचिव अर्याल समक्ष पुग्न बाध्य हुनु परेको थियो ।
सरकारकै कारण प्रशासनमा अस्थिरता
प्रधानमन्त्री, मुख्यसचिव, मन्त्री, उपप्रधानमन्त्रीहरुले आ–आफ्नो रोजाईका कर्मचारीलाई मन्त्रालय र निकायमा लैजाने चलखेलले निजामती प्रशासनलाई अस्थितरतातर्फ धकेल्दै आएको छ । जसले गर्दा सहसचिवहरूको सरूवा लामो समय प्रभावित हुने गरेको कर्मचारीहरु बताउँछन ।
निजामती प्रशासनभित्र खासगरी शक्तिकेन्द्रको हैकम चल्दा योग्यता, क्षमता, निर्णय गर्ने क्षमता, विषय विज्ञता, अनुभव भन्दा पनि आफू निकट र अनुकूलका कर्मचारीलाई रोजेर सरूवा गर्ने प्रवृत्तिले विकृति बढाएको स्रोतको भनाई रहेको छ । साथै, सामान्य प्रशासन मन्त्रालयले खटाएको निकायमा सरूवा भएर नजाने र मानापत्र नबुझ्ने प्रबृत्ति बढ्दै गएको बताइन्छ । सरुवा गरेको निकायमा जान अटेर गर्ने, कर्मचारी संगठन र युनियन, सत्तारूढ दलका शीर्ष नेताहरूको सोर्सफोर्स लगाएर सरूवा संशोधन गरी सुविधाजनक र आकर्षक निकायमा जाने प्रवृत्ति मैलाउँदै गएको बताइएको छ ।
को–को गृहमा भित्रिए र बाहिरिए
नेपाली कांग्रेस निकट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव रामचन्द्र तिवारी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल गृह मन्त्रालयमा भित्रिएका छन् । मधेसी आयोगमा कार्यरत सहसचिव वसन्त अधिकारी पनि गृह मन्त्रालयमा भित्रिन सफल भएका छन् ।
अधिकारीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कर्मचारी थमौतीमा निर्णय तलमाथि गरेकोमा आरोपमा सवारीसाधन सुविधा खोसेर जिम्मेवारी नदिई सरुवा हुन बाध्य बनाइएका थिए । त्यसपछि महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शहरी विकास मन्त्रालयमा कार्यरत युवा सहसचिव प्रदीप परियारलाई भित्र्याएका थिए । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत सहसचिव भीष्म कुमार भुषाल पनि गृह मन्त्रालयमा सरुवा हुन सफल भएका छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयबाट विष्णुप्रसाद कोइराला, गण्डकी प्रदेशको मन्त्रिपरिषद कार्यालयबाट तीर्थराज भट्टराई पनि गृहमा प्रवेश गरेका छन् । शहरी विकास मन्त्रालयमातहत कार्यरत सहसचिव अर्जुन कुमार बम र अर्थ मन्त्रालय अन्तर्गतका शम्भु प्रसाद मरासिनी अर्थबाट गृह मन्त्रालयमा भित्रिएका छन् ।
गृह मन्त्रालयमातहत कार्यरत सहसचिव बेद प्रसाद खरेल मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेशमा लखेटिएका छन् । बद्रीनाथ गैह्रलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ । सहचिव प्रेम प्रसाद आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भित्रिएका छन् । सहसचिव महादेव पन्थको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।
सहसचिव श्रवण कुमार पोखरेललाई वागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । रामेश्वर मरहठ्ठा शहरी विकास मन्त्रालयमा भित्रिएका छन् । गृह मन्त्रालयका रूद्र प्रसाद पण्डित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा गरिएको छ । उनले जेठ २ गते बुधवार नै पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी पाइसकेका छन् ।
कुन सहसचिव कहाँ पुगे ?
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव रेखा कँडेलको लुम्बिनी प्रदेशको आन्तरिक मामिलामा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुदूरपश्चिममा कार्यरत गोपाल कोइरालाको सरुवा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा गरिएको छ । मन्त्रिपरिषद कार्यालय बागमती प्रदेशका निश्चलनाथ पाण्डेको सरुवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सहसचिव विपिन आचार्यको सरुवा उद्योग, वाणिज्य तथा आपूर्तिमा गरिएको छ । प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव नारायण प्रसाद भट्ट र नवराज ढुंगानाको चाहना पूरा गरेर उनीहरुको सरुवा परराष्ट्र मन्त्रालयमा गरिएको छ । अब महावाणिज्यदूत वा राजदूत हुने बाटो खुलेको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट ध्रुव घिमिरेको सरुवा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरिएको छ ।
सुदूरपश्चिमको प्रदेश लोकसेवा कार्यलयमा कार्यरत सहसचिव पुस्कर न्यौपानेको सरुवा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव कमल प्रसाद भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको छ । सहसचिव चण्डी प्रसाद घिमिरेलाई राहत प्रदान गर्दै मुस्लिम आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षामा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशमा सरुवा भएको छ ।
राजेन्द्र कोइरालाको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट संघीय कृषि मन्त्रालयमा सरुवा भएको छ । सोही मन्त्रालयमा कार्यरत विनोद कुमार भट्टराईको वाग्मतीमा सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सुई शुभराज न्यौपानेलाई भने राष्ट्रिय सतर्कता केन्द्रमा खेदिएको छ ।
केही सहसचिवको पदस्थापना
उपसचिवबाट दुई महिना अगाडि सहसचिवमा बढुवा भएका विनोद कुमार खड्कालाई लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पदस्थापन गरिएको छ । राजन पौडेलको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र पुरूषोत्तम शर्मालाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा व्यवस्थापन गरिएको छ ।
सहसचिव कृष्णप्रसाद मैनालीको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र केशवराज सुवेदीको मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा खटाइएको छ । सहचिव बेदप्रसाद भण्डारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा र मिरा आचार्यको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पदस्थापन गरिएको छ । रवीलाल शर्माको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयमा र विनोद लामिछानेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पदास्थापन गरिएको छ ।
सहसचिव बलराम रिज्यालको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट अर्जुन प्रसाद भट्टराईको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सुधा देवकोटाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको छ ।
प्राबिधिक सहसचिवहरु को कहाँ ?
सहसचिव राधिका थपलियाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । बासुदेव जनार्दन प्रसाद उपाध्यायलाई स्वास्थ्य मन्त्रालयबाट लुम्बिनी प्रदेशको सोही मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिव जनार्दन पन्थीको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट संघीय स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ ।
प्राबिधिक सहसचिव बासुदेव पौडेलको खानेपानी मन्त्रालयबाट लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालय सरुवा भएको छ । राजेन्द्र सिंह भण्डारीको लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयबाट संघीय खानेपानी मन्त्रालयमा सरुवा भएको छ । मिनराज ढकालको उर्जा मन्त्रालयबाट लुम्बिनी प्रदेशको सोही मन्त्रालयमा सरुवा भएको छ । नरेशराज खरेलको श्रम मन्त्रालयबाट मधेसी आयोगमा सरुवा गरिएको छ । शंकर नेपाललाई भने सूचना तथा प्रशारण विभागको महानिर्देशकबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको छ ।
सहसचिव काली प्रसाद रिजालको सरुवा शिक्षा मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा गरिएको छ । मदन कोइरालाको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्वास्थ्य मन्त्रालय, विष्णुप्रसाद पौडेलको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।
सहसचिव रमेश न्यौपानेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट मुस्लिम आयोगमा सरुवा भएको छ । डा. नरहरि प्रसाद घिमिरेको कर्णाली प्रदेशको कृषि मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवारमा सरुवा भएको छ । टिकाराम थापाको कृषि मन्त्रालय सिंहदरवारबाट कर्णाली प्रदेशको कृषि मन्त्रालयमा सरुवा भएको छ । जीवनाथ पौडेलको सुदूरपश्चिमको उद्योग, पर्यटन मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय सिंहदरवारमा सरुवा भएको छ ।
सहसचिव प्रमोद भट्टराईलाई वन मन्त्रालय सिंहदरवारबाट सुदूरपश्चिमको उद्योग, पर्यटन मन्त्रालय र केदार बरालको वन मन्त्रालयबाट कर्णाली प्रदेशको उद्योग, पर्यटन मन्त्रालयमा सरुवा भएको छ । सुमन घिमिरेलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट शिक्षा मन्त्रालयमा सिंहदरवारमा सरुवा गरिएको छ । सहसचिव रघुराम विष्टलाई भने भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन आयोगमा खेदिएको छ । विष्ट तीन महिना पछि सचिव बढुवा हुने लाइनमा रहेका छन् । उद्योग मन्त्रालयबाट अर्थ मन्त्रालयमा भित्रिएका सहसचिव बाबुराम गौतम कुर्सी नपाइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भित्रिन सफल भएका छन् । (साँघु साप्ताहिक, २०८१ जेठ ७)




