काठमाडौं, ०७५-७-२३ , शुक्रबार । । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसहित उपपप्रधानमन्त्री छन् । उनको पार्टीले केन्द्र सरकारमा २ वटा मन्त्रालय पाएको छ । तर उनको पार्टीभित्र भने संघीय सरकारमा गएदेखि नै असन्तुष्टी बढिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा बीरगंज महानगरपालिकामा फोरमका उम्मेदवार विजयकुमार सराबगीलाई जिताउनेदेखि प्रतिनिधिसभा र प्रदेशसभामा पर्सा जिल्लामा फोरमलाई अभूतपूर्व सफलता दिलाउने प्रदीप यादवलाई उनले स्वास्थ्य राज्यमन्त्री बनाउने अनुमान सबैले गरेका थिए ।
पूर्व र पश्चिमलाई सन्तुलन मिलाउन नेपालगंजका इस्तियाक राईलाई फुल मन्त्री बनाएकोमा त्यति धेरै बिरोध नभए पनि प्रदीप यादवलाई नसमेटेकोमा पार्टीभित्र असन्तुष्टी बढेको फोरमका एक नेताले बताएका छन् । ती नेताका अनुसार यादवले प्रदीप यादव जस्ता पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निभाउनेलाई मन्त्रिपरिषदमा नसमेटी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भन्दा २ महिनाअघिमात्र नया“शक्ति पार्टीबाट फोरममा प्रवेश गरी टिकट पाएका सुरेन्द्र यादवलाई लगिएको बिषयमा पार्टीभित्र यादवको हैकमवादविरुद्ध असन्तुष्टी पोखिन थालेको छ । सुरेन्द्र यादव मेडिकल क्षेत्रका जानकार हुन् । उनी विवादित जानकी मेडिकल कलेजका अध्यक्ष पनि हुन् ।
सुरेन्द्र यादव, पूर्वसंचार राज्यमन्त्री सुरिताकुमारी साह र नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिसचन्द्रलाल सुमनले जानकी मेडिकल कलेज खरिद गरेका थिए । मेडिकल क्षेत्रका अनुभवी यादवलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुको उद्देश्य आर्थिक स्रोत जुटाउनका लागि नै भएको आरोप उपप्रधानमन्त्री यादवमाथि लाग्ने गरेको छ ।
पार्टी स्थापनादेखि दुःख गरी चुनाव जिताउन महत्वपूर्ण भूमिका खेल्ने प्रदीप यादवहरुलाई पाखा लगाएर चुनावभन्दा २ महिनाअघि आएकालाई बनाउनुभित्र आर्थिक स्रोत जुटाउने नै हो, फोरम स्रोतका अनुसार उपप्रधानमन्त्री यादव आफू कही“ कतै आर्थिक मामिलामा देखिदैनन्, सबै डिल राज्यमन्त्रीलाई दिएका छन् ।
सरकारमा सहभागी भएका कारण २०७५ असोज ३ लाई कालोदिन नमनाउने पक्षमा उपप्रधानमन्त्री यादव थिए । तर फोरमको २ नम्बर प्रदेश अध्यक्ष रेणु यादव र मुख्यमन्त्री लालबाबु राउत गद्दीले कालो दिवस मनाउने औपचारिक निर्णय नै गरेर यादवलाई चुनौती दिए ।
फोरमको केन्द्रीय कार्यालयका तर्फबाट सहायक प्रवक्ता प्रकाश अधिकारीले कालो दिवस नमनाउने विज्ञप्ति जारी गरेका थिए भने प्रदेश अध्यक्ष रेणु यादवले संविधान दिवसलाई कालोदिनका रुपमा मनाउने निर्णय गरेको अर्को विज्ञप्ति जारी गरेकी थिइन् ।
फोरमभित्रको असन्तुष्टी असोज ३ लाई कसरी मनाउने भन्नेमै छताछुल्ल भयो । उपेन्द्र यादव उपप्रधानमन्त्रीका हैसियतले टु“डिखेलमा आयोजित संविधान दिवसको कार्यक्रममा सहभागी हुने पक्षमा थिए । तर पार्टीको विवाद सतहमा आएपछि संविधान दिवसको कार्यक्रममा सहभागी नभई त्यसलाई छल्न हठात् राजबिराज गएका थिए ।
विज्ञप्ति युद्धमात्र होइन, मुख्यमन्त्री राउत र रेणु यादवले पार्टी नै फोड्नेसम्मको धम्की उपप्रधानमन्त्री यादवलाई दिएपछि उनी संविधान दिवसमा सहभागी नभई राजबिराज गएका थिए ।
यसैबीच, उपप्रधानमन्त्री यादवले स्वकीय सचिवमा राखेका भतिजा जितेन्द्र यादवलाई निकालेका छन् । र, छोरा दिपेश यादवलाई स्वकीय सचिवमा राखेका छन् । भतिजाले स्वास्थ्य मन्त्रालयमा खुद्रा मसिना काममा ५–१० हजार रुपैयाँ रकम लिएको सूचना पाएपछि उनले हटाएको स्रोतको दाबी छ ।




