काठमाडौँ, १० असोज । यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।
वीरगन्ज नगरपालिकाको तीनवटा वडाका मतपेटिका खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको पाँचवटा वडाको मतगणना गर्न बाँकी रहेको छ । जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २५६ वडाको मतगणना कार्य सम्पन्न भएको छ र तीनवटै नगरपालिकाको गरी अब १५ वटा वडाहरुको मतगणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
अहिलेसमा प्राप्त नतिजा अनुसार राष्ट्रियरुपमा नेकपा एमालेले २ नम्बर प्रदेशमा १८ सहित २९५ स्थान ल्याएर स्थानीय तहमा पहिलो र दोस्रो दलमा नेपाली कांग्रेसले २ नम्बर प्रदेशमा ३९ स्थान ल्याएर २६५ स्थानमा खुम्चिएर दोस्रो दलमा चित्त बुझाउनु परेको छ भने माओवादी केन्द्रले २ नम्बर प्रदेशमा २१ स्थान हात परेर जम्मा १०६ तहको नेतृत्व गरेर तेस्रो दल बन्न सफल भएको छ। राष्ट्रियरुपमा चौथो दलको सौभाग्य संघीय समाजवादी फोरम मिलेको छ उसले ३० स्थान हासिल गर्ने सम्भावना छ ।
पाँचौ स्थानमा प्राप गर्ने सौभाग्य ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी राजपालाई प्राप्त भएको छ। उसले २५ स्थानमा चित्त बुझाउनु परेको छ। छैठौ स्थानमा फोरम लोकतान्त्रिक रहने छ जसले स्थानीय तहमा ३ स्थान प्राप्त गरेको छ। अन्यले ३ स्थान ल्याएका छन्। २ नम्बर प्रदेशको १३६ स्थान मध्ये ३ स्थान वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ । जसमा एमाले, संघीय समाजवादी फोरम र राजपा आगाडि रहेका छन्।



