🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धमाधम खाली हुँदै घर, घरधनीहरुको निद्रा र भोक हराउँदै !

  बाटोमा हिँड्दा ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘फ्ल्याट बिक्रीमा’,लगायत लेखिएका पोस्टर छ्यापछ्याप्ती देखिन्छन् । चाहे त्यो सडक छेउछाउकै घरमा होस् या भित्री गल्लीहरुमा । राजधानीको मुख्य सहर इन्द्रचोक, पुतलीसडक, न्यूरोड, ठमेल, लाजिम्पाट, क्षेत्रपाटी, सामाखुशी, कलंकी, बालाजु, बसुन्धाराजस्ता ठाउँमै कोठा, सटर र फ्ल्याट खाली देखिन्छन् ।

उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर पर्छन् । तर, राजधानीमै धमाधम घर खाली हुँदा ललितपुर र भक्तपुरको अवस्था पनि उही छ । झन् अन्य जिल्ला वा ठाउँको हालत के होला ? काठमाडौं उपत्यकासँगै जोडिएका अधिकांश जिल्लाहरुमा कोठा, सटर र फ्ल्याट खाली भएका छन् । अहिले कोठा, सटर र फ्ल्याट छोड्नेको संख्या ह्वात्तै बढेको छ ।

हजाराै युवाहरू देश छाडेर विदेशतिर लागेपछि सटर र फ्ल्याट, डेरा, घरहरु दिनहुँ खाली हुँदै गएका छन् । र, घरधनीहरु चिन्तित छन् । कतिपय घरधनीहरु त भन्छन्, ‘झण्डै एक वर्ष हुन लाग्यो । घर खाली भएको ।’

अहिले सटर लिएर व्यापार गर्ने काेही छैनन् । कोठामा बस्ने पनि छैन । र, फ्ल्याट लिएर अफिस सञ्चालन गर्ने पनि छैनन् । किनकि अधिकांश मानिसहरु बेरोजगारी वा आम्दानी नभएपछि महंगीका कारण यहाँ बस्नै नसकेर कि विदेशतिर कि आफ्नै गाउँघर फर्किएका छन् ।

  यसले गर्दा भाडामा बस्ने मान्छे भेटिन अहिले मुस्किल छ । तीन वर्षअघि उपत्यकामा घरधनीहरु एउटै कोठाको मासिक भाडा ९ हजारदेखि २० हजार असुल्थे । एक फ्रल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि १८ लाखसम्म लिन्थे । खाली सटर त झन् २० लाखदेखि ५० लाखमा बिक्री हुन्थ्यो ।

बस्नुभन्दा अगाडि नै तीन महिनाको भाडा तिर्नुपर्दथ्यो । बत्ती, पानी, फोहोर र इन्टरनेटको पैसा घरधनीहरुले जति भन्यो, डेराबहालहरु त्यति नै तिर्न बाध्य हुन्थे । अहिले घरधनीहरु भाडा घटाएर दिन्छु भन्दा समेत सटर लिएर व्यापार गर्ने कोही छैन । न त कोठामा बस्ने वा फ्ल्याट लिने नै छन् । हिजो घरधनीहरुले डेराबहालहरुलाई लुट्नु लुटे ।

अहिले घर धमाधम खाली भएका छन् । आम सर्वसाधारण वा डेराबहालहरुको मनमा घरधनी भनेको ठग हुन् भनेर छापा बसिसकेको छ । पैसा असुल्ने तर सेवासुविधा नदिने शोषक, सामन्ती घरधनीहरु हुन् भनेर डेरा बहालहरुले बुझिसकेका छन् । भाडामा लगाएरै घरधनीहरुले कमाएको देखेर डेराबहालहरुले पनि पैसा हुना साथ जग्गाकिनेर घर बनाए ।

उपत्यकाका कुना कुनामा घर बनेको छ । तर, भाडामा बस्ने कोही छैन । भाडामा लगाएर बसिबसि खान्छु भनेर अधिकांशले हिजो बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाए । अहिले भाडामा बस्न कोही आएको छैन । बसेकाहरु पनि छोडिरहेका छन् ।

  अहिले घरधनीहरुको निद्रा र भोक नै हराएको छ । एकातर्फ भाडामा बस्न कोही आउँदैन त अर्कातर्फ बैंकको साँबाब्याज बढ्दै गएको छ । ऋण तिर्न पैसा छैन अनि घर बिक्री हुँदैन । अहिले अधिकांश घरधनीहरु यही समस्याबाट गुज्रिरहेका छन् । हिजो भाडामा लगाएर पैसा कमाउने सपना देखेर उनीहरुले घर त बनाए ।
यद्यपि, अहिले भाडामा बस्ने कोही नभएपछि बैंक, वित्तीय संस्थाले उनीहरुलाई च्यापेको छ ।

  पछिल्लो समय घर बेच्न चाहने धेरै भेटिन्छन् । सार्वजनिक ठाउँमा होस् या मालपोत कार्यालय वरपर घरजग्गा बेच्न चाहनेहरु छ्यापछ्याप्ती देखिन्छन् । दलालीहरु नै तीन वर्षअघि तीन करोड पर्ने घर अहिले एक करोडमा समेत बिक्री नभएको बताउँछन् ।

  उपत्यकामा थुप्रै मालपोत कार्यालय छन् । तर, त्यहाँ घरजग्गा किनबेच वा नामासरी ठप्प छ । विगत तीन वर्षदेखि मालपोत कार्यालयमा चहलपहल छैन, सुनसान  छ । उपत्यकामा मात्र होइन, अहिले मुलुकभरको अवस्था यस्तै छ । घरजग्गा कारोबार ठप्पै भइसकेको छ । २०८० साउन ३० गतेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट फुकुवा गर्यो ।

तापनि घरजग्गा कारोबार बढेन । घरजग्गा कारोबारमा मन्दी आएको छ भने भाडामा बस्ने पनि कोही छैन । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर घर बनाएकाहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकले घर लिलाम गर्ने डरले कतिपय घरधनीहरु त डिप्रसेनमा गइसकेका छन् । कतिपयको घरमा खाने छैन ।

  डेराबहालबाट उठाउने भाडाले नै अधिकांशले गुजारसँगै बैंकको साँबाब्याज तिर्दै आएका थिए । तर, अहिले भाडामा बस्न कोही नआएपछि उनीहरुको अवस्था नाजुक बनेको छ । बिहान बेलुकाको छाक टार्नै कतिपय घरधनीहरुलाई मुस्किल परेको छ । फेरि भोक लाग्यो भन्दैमा इट्टा र डण्डी त चपाउन मिल्दैन नि त ।

पाँच दशकअघि उपत्यकामा सबै खेतीयोग्य जमिन थियो । जताततै बारी वा फाँट देखिन्थ्यो । अधिकांश मानिस खेतीपाती गर्थे । एउटैको रोपनीका रोपनी जमिन हुन्थ्यो । त्यतिखेर मुस्किलले घर देख्न पाइन्थ्यो, त्यो पनि माटोको । तर, बीचमा जग्गा दलालीहरुले किसानहरुसँग सस्तोमा जमिन किने अनि प्लानिङ र खण्डीकरण गर्दै महंगोमा बेचेर जग्गाको मूल्य हवात्तै बढाएका हुन् । अहिले उपत्यकामा बारी वा फाँट देखिँदैन । जताततै घरैघर छ । घर पनि टाँसिएर बनाइएको छ । यसले गर्दा घाम देख्न समेत मानिसहरुलाई हम्मेहम्मे पर्ने गरेको छ ।

मुलुकभरको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । अहिले देश खाद्यान्नमा आत्मनिर्भर छैन । सागदेखि गुन्द्रकसम्म विदेशबाट आयात गर्नुपरिरहेको छ । जसले गर्दा एकातिर मुलुकको पैसा विदेशिएको छ, अर्कोतर्फ जुनसुकै बेला खाद्यान्न संकट निम्तिने देखिन्छ । बजारमा घरजग्गा, गाडी र सेयरको किनबेचमा पूरै मन्दी छ ।

यसले गर्दा सबै पैसा फ्रिज भएको छ । घरजग्गामा जसरी दलालीहरुले सेयर र गाडीको पनि मूल्य बढाएका थिए । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालहरुले ३५ सयसम्म पुर्याए । एक लाखको गाडी दलालहरु २० लाखमा बिक्री गरे । अहिले ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तीय संस्थाको नाममा छ ।

बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य घट्नासाथ सहकारी संस्थाहरु भागिहाले । करोडौं बचतकर्ताको खर्बौ रकम झवाम पारेको छ, सहकारीले । आज बचतकर्ताहरुको रुवाबासी चलेको छ । तर, के गर्नु ? अहिले बैंकको अवस्था पनि सहकारीजस्तै भएको छ । लिलाम गरेको धितो बिक्री नभएपछि ग्राहकको खोजीका लागि कर्मचारी नै खटाएका छ, बैंकले ।

चिया पसल, सार्वजनिक स्थललगायतमा बैंकका कर्मचारीहरु यत्तिकै भेटिन्छन् । उनीहरु घरजग्गा, गाडी र सेयर किन्न मानिसहरुलाई फर्काइरहेका हुन्छन् । तर, अहिले घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । सबै बेच्न चाहने मात्र छन् । केही दिनअघि एनआईसी एसिया बैंकले कर्जा तिर्नेलाई २० प्रतिशत छुटसँगै ब्याज, पेनाल्टी केही तिर्नुनपर्ने अफर ल्यायो ।

यसबाटै बैंकहरु टाट पल्टिने अवस्थामा पुगेको बुझिन्छ । अहिले आम सर्वसाधारणले बैंकमा बचत गर्न छोडिसकेका छन् । बचत गरेकाहरु पनि धमाधम रकम निकालिरहेका छन् । अर्कोतर्फ घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा बैंकहरु डुब्ने अवस्थामा पुगेका छन् । ऋणको साँबाब्याज बढ्दै गएको छ भने धितोको मूल्य घट्दो छ ।

अनि बैंकले कसरी उठाउँछ ऋण ? बैंकहरुलाई घरजग्गा, गाडी र सेयर टोक्नु कि बोक्नु भइरहेको छ । ऋणी कर्जा तिर्दैन त धितो पनि बिक्री हुँदैन । फेरि बचतकर्ताहरु भने पैसा निकाल्न लाम लागेका छन् । सहकारी संस्थाहरु भाग्नुअघि बचतकर्ताहरुलाई भन्थे, ‘हाम्रो लगानी घरजग्गा, गाडी र सेयरमा छ ।

 हामी त्यो बेचेर भएपनि तपाईँहरुको पैसाफिर्ता गर्छौं। हामी भाग्दैनौं । तपाईंहरु नआत्तिनुस् ।’ तर, मै हुँ भन्ने सहकारीहरु पनि पछि भाग्नै पर्यो । अहिले बैंकले पनि पैसा निकाल्न गएका बचतकर्ताहरुलाई यस्तै भनिरहेको सुनिन्छ ।

सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले पनि बैंक, वित्तीय संस्थालाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको भए आज यो अवस्था आउदैंन्थ्यो । सरकारले समयमै उचित कदम चाल्न नसक्दा बैंक, ऋणी र बचतकर्ताहरु नै डुबे ।
रुषा थापा
भक्तपुर