काठमाडौँ, २६ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गर्नुभएको छ । उहाँले आसपासका बस्तीमा रहेको सीसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाव दिनुभएको छ ।
अहिले दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी पाएको बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ । बस्तीबीचमा रहे तापनि आसपासमा घर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगरप्रहरी परिचालन

चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्री प्रयोगमा ल्याइरहेको छ ।
नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पु¥याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।”
उहाँले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताउनुभयो । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।
–––




