🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बढी भाडा लिने पूर्व जाने १५ सवारीलाई  कारवाही

काठमाडौँ, २९ असोज (रासस) : यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले तोकेभन्दा रु ३०० सम्म बढी भाडा लिएको पाइएको छ । 

बल्खुबाट हेटौँडा, वीरगञ्जलगायत स्थानमा सञ्चालन हुने टाटा सुमोलगायत साना सवारीले पनि बढी भाडा लिएको गुनासोका आधारमा अनुगमन गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

अनुगमनका क्रममा बल्खुबाट चल्ने साना सवारीले बढी भाडा लिएको फेला नपरेको विभागले जनाएको छ । सवारीभित्र चढेर तोकेभन्दा बढी भाडा तिर्नुभएको भए जानकारी पाऊँ भनी सोध्दा कसैले बढी भाडा लिएको भनी उजुरी नगरेको प्रवक्ता उपाध्यायले सुनाए  । 

विभागले घटस्थापनादेखि गरेको अनुगमनका क्रममा ५१५ सार्वजनिक यातायातलाई कारवाही गरेको छ । कारवाही गरिएका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । सवारीमा बढी भाडा लिने, एउटै सिटको दुईवटा टिकट दिएर यात्रुलाई दुःख दिनेलगायत समस्या आएमा प्रहरीको निःशुल्क नं १०१ र १०३ एवं विभागको हटलाइन ९८५१२७३२२२ मा खबर गर्न विभागले सार्वजनिक आह्वान गरेको छ । 

यात्रुको गुनासाका आधारमा सम्बन्धित सवारीलाई कारवाही गरिने प्रवक्ता उपाध्यायले बताए  । चाडबाडका समयमा सार्वजनिक यातायातमा हुने अनियमित रोक्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । एउटै सिटको दुई वटा टिकट दिने सवारीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीस्वरुप रु ५०० जरिवाना गरेको छ । दैनिक एक दर्जन सवारीले यस्तो गर्ने गरेको गुनासो आउने गरेको जनाइएको छ । 

घटस्थापनादेखि ७८ हजार ९५ सवारीमा सात लाख ५२ हजार ६७२ यात्रु दशैँ मान्न उपत्यकाबाहिर गएको महाशाखाको अभिलेख छ । यसै अवधिमा ६१ हजार २३३ सवारीमा तीन लाख ८१ हजार एक यात्रु उपत्यका भित्रिएका छन् । 

उपत्यकामा सवारीको समस्या 

विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ । उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् । 

विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै छ रुपैयाँ ठगी गरेको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले बताए  । 

विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो ।

विभागले सार्वजनिक गरेको निःशुल्क नं र हटलाइनमा सम्पर्क गरेर जानकारी गराउँदा पनि कारवाही नभएको यात्रुको भनाइ छ । 

यातायात कम भएका बेला सरकारी, नेपाल प्रहरी र नेपाली सेना एवं विद्यालयका सवारी चलाएर सवारी अभावको समस्या समाधान गर्न सकिनेमा सम्बन्धित निकायको ध्यान नगएको यातायात अभियानकर्मी थापाले बताए । 
–––