काठमाडौं, १४ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभामा सेयरधनीको भने हात खाली हुने भएको छ । सभा, होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।




