काठमाडौै । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको रवाफले बालुवाटार त्राहीमाम हुन थालेको गुनासो छ । अचेल प्रधानमन्त्री निवास बालुवाटारमा छोरी गंगा दाहालले रुचाईएका बाहेकका व्यक्तिले प्रवेश पाउन छोडेको गुनासो माओवादी र सांसदहरुको रहेको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा पनि गंगाले रोजेका व्यक्तिहरुलाई मात्रै राखिएको छ । गंगा दाहालले भनेको नमान्ने तथा आफ्नो स्वत्वसहित काम गर्ने सचिवालयका अधिकारीलाई हटाइएको छ ।
गंगा दाहालकै जोडबलमा पहिलो लटमा १३ जना सचिवालय सदस्यलाई हटाईएको थियो । त्यसरी हटाइएकाहरुमा माओवादीको सशस्त्र युद्धका बेलामा घाईते भएका अपांगहरुसमेत रहेका थिए । साथै, प्रधानमन्त्री हुुनुभन्दा अघिदेखि नै प्रचण्डलाई सहयोग गरिरहेका व्यक्ति पनि परेका थिए । लामो समयदेखि प्रचण्डको सचिवालयमा बसेर काम गरेका सूर्यकिरण शर्मालाई गंगाले किन हटाइन ? भन्ने प्रश्न माओवादी केन्द्र र प्रेस सेन्टरभित्रै उठ्ने गरेको छ । प्रचण्ड सचिवालयको सोझो कर्मचारीको रुपमा चिनिएका शर्मालाई विगतमा गंगाले नजिक ठान्ने गरेकी थिइन् ।
शर्मालाई हटाउन मनोहरि तिमल्सिना र गोकर्ण भट्टको भूमिका रहेको पनि प्रेस सेन्टरका पत्रकारहरु चर्चा गर्छन् । शर्मासहित १३ जनाको टोली हटाएको केही सातामा गंगा दाहालको जोडबलमा सचिवालयमा कार्यरत रामदीप आचार्य र देवेन्द्र पराजुली पनि हटाइएको छन् । जनप्रशासन प्रमुख र जनसम्र्पक प्रमुखको रुपमा प्रचण्डको सचिवालयमा काम गरिरहेका आचार्य र पराजुलीलाई पनि किन हटाईयो भन्ने प्रष्ट नभएको प्रेस सेन्टरका पत्रकारहरु बताउछन् । माओवादी निकट पत्रकारहरुका अन्ुसार, गंगा दाहालकै जोडबलमा उनीहरुलाई गुपचुप रुपमा हटाईएको छ । प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएपछि सचिवालयमा गंगा दाहालको काँटछाँट निकै बढेको चर्चा माओवादी केन्द्रमा हुने गरेको छ ।
नेता गजुरेलले सुन तस्करी काण्डको छानविन र गंगा दाहालको भूमिकामाथि प्रश्न उठाएर राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि पनि सुन काण्ड छानविनमा पार्टीले गलत लाइन लिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भनेका पनि थिए । यो प्रकरणमा कृष्णवहादुर महरामात्र जोडिएको तर ६६ किलो सुन प्रकरणमा वर्षमान पुन पनि जोडिएका आरोप थियो ।
नेता पुनलाई बचाउने गरी महराको छोरालाई मात्रै पक्राउ गरिएको आरोप लाग्ने गरेको छ । त्यसले माओवादी पार्टीभित्र असन्तुष्टि बढिरहेको स्रोत बताउछ । त्यसो त, वरिष्ठ नेता गजुरेलले राजीनामा दिएपछि छायाँ सल्लाहकारको भूमिकामा वर्षमान पुन रहेको र उनी प्रधानमन्त्री कार्यालयमै आसन जमाएर बसेका छन् । (साँघु साप्ताहिक, २०८० माघ २९)



