नेपाली समाजमा तिहार, छठ र नेपाल संवत् जस्ता पर्व र उत्सवहरुको रौनक छाउन लागेको बेलामा २०८० सालको कार्तिक १७ गते जाजरकोट केन्द्र बनाएर ठुलो भूकम्प गयो । भूकम्पमा परी धेरै मानिसहरुको ज्यान गयो । हजारौं मानिसहरु घर वा सुरक्षित आवासविहीन भए र हिउँद लाग्ने बेलाको जाडोमा खुला चौरमा बस्न विवश भए । नेताहरु हेलिकोप्टर चढेर भूकम्पग्रस्त क्षेत्रको अवलोकन भ्रमणमा गए र भूकम्प पीडितलाई आवश्यक राहत उपलब्ध गराउने आश्वासन दिएर फर्के । कतिपय मित्रराष्ट्रहरुले भूकम्प पीडितहरुको राहत र उद्धारको लागि सरकारलाई सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रकट गरेर राहत सामग्री र आर्थिक सहयोग गरेका समाचार पनि आइरहेका छन् ।
भारत र चीन जस्ता राष्ट्रहरुले राहत सामग्री बोकेका सैनिक विमानहरु विमानस्थलमा ओह्राले । नेपालका धेरै संघ÷संस्था तथा मानिसहरु पनि पीडितहरुको सहयोगको लागि अग्रसर भए । सरकारले सबै सहयोग र राहत सामग्री एउटै द्वार अर्थात् सरकारी संयन्त्रबाट उपलब्ध गराउन आव्हान गरेर राहत सामाग्री र सहयोग संकलन ग¥यो र गरिरहेको समेत छ । दाताहरुले केन्द्रमा सरकार र स्थानीय रुपमा वडा कार्यालयलाई राहत सामग्री उपलब्ध गराउने गरेका छन् । तर, भूकम्पपीडित धेरैले अहिलेसम्म राहत नपाएको र वितरण भएको राहत सामग्रीको वितरणमा पनि भेदभाव भएको गुनासो गरेका छन् ।
भूकम्प पीडितहरुलाई उपलब्ध गराउने भनेर दाताहरुले दिएको सहयोगको वितरण गर्दा पनि सरकारले सरकारी संयन्त्रको दुरुपयोग गरेर कसैलाई पाखा र कसैलाई काखा गर्छ भने त्यसलाई जिम्मेवार पक्षको गम्भीर अपराधको रुपमा लिनुपर्छ । भूकम्पबाट पीडित भएका मानिसहरु माओवादी वा कांग्रेस वा अन्य कुनै खास दलका समर्थक वा कार्यकर्ता भए तिनलाई राहत उपलब्ध गराउने र अन्य कुनै खास दलका समर्थक वा कार्यकर्ता भए उनीहरुलाई राहत नदिने वा दिए पनि थोरै मात्रै दिने हो भने त्यस्तो कार्य भ्रष्टाचारजन्य अपराध मात्र होइन, मानवता विरुद्धको अपराध पनि हो। कुनै खास दलका समर्थक वा कार्यकर्ता भए मात्र उनीहरुलाई जाडो हुने, खाना खानुपर्ने र अर्को दलका समर्थक वा कार्यकर्ता भए उनीहरुलाई जाडो नहुने र भोक नलाग्ने भन्ने हुँदैन।
त्यसैले भूकम्पमा परेर परिवारका सदस्य गुमाएका वा घर भत्केर रुखमुनी बस्न बाध्य भएका वा खानेकुरा नभएर भोकभोकै बस्न वाध्य भएका मानिसहरु सबैप्रति सरकारले समान व्यवहार गर्नुपर्छ, भेदभाव गर्नुहुँदैन, गर्न पाइँदैन पनि । राहत वितरणमा कसैले भेदभाव गर्छ वा लुकिछिपी राहत सामग्री र रकमको हिनामिना गर्छ भने त्यसको निम्ति जिम्मेवार व्यक्ति वा पदाधिकारीलाई कठोर दण्ड दिन जरुरी छ । राहत सामग्री र सहयोग हिनामिना र दुरुपयोग गर्ने भन्दा निन्दनीय र दण्डनीय कार्य अर्को हुँदैन।
कुनै आपराधिक कार्य तत्काल केही समय लुकाउन सकिए पनि एक न एक दिन त्यस्तो अपराध खुल्छ भन्नेकुरा बर्षौं अघि गरिएका आपराधिक कार्यहरुमा संलग्न अपराधिहरुमाथि कार्वाही चलाउनुपर्छ भन्ने आवाज जनस्तरबाट अहिले पनि उठ्ने गरेको कुराले नै स्पष्ट गर्छ । त्यसैले सरकार स्वयं भेदभावको पक्षमा छैन भने राहत वितरणमा धाँधली भयो भनेर आउने गरेका गुनासाहरुको निष्पक्ष छानबिन र वितरणको सार्वजनिक गर्न जरुरी छ ।
मित्र राष्ट्रहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ÷संस्थाहरु र व्यक्तिहरुबाट अहिलेसम्म भूकम्प पीडितहरुलाई उपलब्ध गराउनको निम्ति के कति र कस्तो सहयोग प्राप्त भयो र त्यस्तो सहयोग के कति कहाँ कहाँ वितरण गरियो भन्नेकुरा पनि अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन। एकातिर एकद्वारको नामबाट सहयोग जति आफ्नो अधिकारमा लिने र अहिलेसम्म के कति र जम्मा कति सहयोग वा सामग्रीको संकलन भयो भन्नेकुरा चाहिँ गोप्य राख्ने कामले राहत सामग्री र रकमको दुरुपयोग र हिनामिना हुने संभावना बढ्न जान्छ र त्यस्तो प्रवृत्तिलाई बल समेत पुग्न जान्छ ।
सत्तारुढ दलका जिम्मेवार राजनीतिक नेताहरुले नै राहत सामग्री आफ्नो कब्जामा लिएर आफूखुसी प्रयोग र वितरण गर्न खोजेको भन्नेजस्ता समाचारहरु पनि आएका छन् । त्यस्ता समाचारहरुमा पनि सरकारी संयन्त्रहरु मौन छन् । अर्कातिर अनधिकृतरुपले बल प्रयोग गरेर राहत सामाग्री र राशि कसैले कब्जा वा नियन्त्रणमा लिएर आफूखुसी गरेको भनिएका मानिसहरुलाई कारवाही भएको छ-छैन वा त्यस्तो सामग्री अनधिकृत रुपले कब्जामा लिएर दुरुपयोग गर्ने व्यक्तिबाट फिर्ता लिएर सही वा निर्धारित स्थानमा पु¥याउने पहल सरकारी संयन्त्रबाट भएका छन् छैनन् भन्नेकुरा पनि सरकारले स्पष्ट गरेको छैन ।
सरकारले राहत सामग्रीको सही र निष्पक्ष ढंगले वितरण गर्न सक्दैन भने सरकारले एकद्वार प्रणालीको नारा दिन समेत सुहाउँदैन ।त्यसैले सरकारले एकद्वार प्रणालीको अवलम्बन गरेर राहत सामग्रीको संकलन र वितरण गर्न चाहन्छ भने सरकारले विना भेदभाव पीडित सबैले निश्चित र पारदर्शी मापदण्डका आधारमा समान रुपले राहत पाउने अवस्था सुनिश्चित पनि गर्नुपर्छ ।
राहत सामग्रीको संकलन र वितरणमा अनियमितता र भेदभाव भयो र त्यस्तो अनियमितता र भेदभाव गर्ने व्यक्ति वा पदाधिकारीमाथि कारवाही भएन भने त्यस्तो अनियमितता र भेदभाव सरकारी संरक्षणमा भएको रहेछ भन्ने बुझ्नुपर्छ र त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ ।
सरकारले संकलित राहत र सहयोग सामाग्रीको विवरण र राहत सामाग्री र सहयोग राशिको वितरणको विवरण समय समयमा सार्बजनिक बनाउने काम नगरीकन सरकारले राहत सामाग्री र सहयोग राशिको वितरणमा अनियमितता र भेदभाव गर्ने नियत राखेको छैन भन्नेकुरामा जनसाधारणले विश्वास गर्न सक्ने अवस्था समेत बन्न सक्दैन । (साँघु साप्ताहिक, २०८० मंसिर ४)




