काठमाडौं । नेपाल प्रहरीले ०८० भदौ २१ गते बिहीवार अर्थात सेप्टेम्बर ७ तारिखका दिन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्ष एक भव्य कार्यक्रमका बिच मनाइएको छ । संगठित, साइबर, आतंकवाद, लागूऔषधलगायत बहुआयामिक अपराध र सदस्य राष्ट्रबीच सूचना आदान प्रदान गर्न स्थापना भएको इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा मनाउने घोषणा गरिएको थियो । सोही अनुरूप प्रहरी कार्यालय नक्सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम मनाइएको थियो ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा।दिनमणि पोखरेल, विभिन्न मुलुकका राजदूत, गृह सचिव दिनेश भट्टराई, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत निजामती, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सदस्य राष्ट्र बिचका अपराधजन्य चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीयस्तरमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं समन्वय आवश्यक रहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले डिजिटल युगमा प्रविधिको दुरुपयोगबाट भएका अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व रहने बताएका थिए । अपराधिक क्रियाकलापलाई प्रभावकारी नियन्त्रण गर्न आपसी सूचना आदान–प्रदान भरपर्दो स्रोत हुनुपर्ने पनि उनले उल्लेख गरेका थिए । उनले नागरिकलाई भयबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्नेमा जोड पनि दिएका थिए ।
प्रचण्डले ‘इन्टरपोल कफी टेबल बुक’ विमोचन गर्दै इन्टरपोल कफी टेबल बुक थप सहयोगी हुने विश्वास व्यक्त गरेका थिए । कानूनी व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयास उक्त पुस्तकले प्रदर्शन गरेको थियो । कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय अपराध र आतंकवादविरुद्धको विश्वव्यापी लडाईंमा इन्टरपोल अमूल्य साझेदार भएको बताउदै अन्तर्राष्ट्रिय अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार र अन्य गैरकानूनी गतिविधिविरुद्ध लड्न प्रहरीलाई इन्टरपोलको साझेदारीले सघाइरहेको उनको धारणा राखेका थिए ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अन्तर्राष्ट्रिय अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता आवश्यक रहेको बताउदै विश्वमा नयाँ सुरक्षा खतरालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।
रोचक विषय के छ भने करिब डेढ घण्टा चलेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठ एक घण्टा जति निदाएका थिए । प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी कूटनीतिज्ञ, सुरक्षाकर्मी, अनुसन्धानकर्मी, कानूनविद्, पत्रकार उपस्थित कार्यक्रममा उपप्रधानमन्त्री बारम्बार निदाउदा सहभागीहरूले खल्लो महसुस गरेका थिए । विदेशी कूटनीतिज्ञका अगाडि मुलुकको बेइज्ज भएको कार्यक्रममा सहभागीहरुले महसुस गर्नु परेको थियो । पत्रकारहरुले कार्यक्रममा निदाएका उपप्रधानमन्त्री श्रेष्ठले रातभर काम गर्दा रहेछन कि भन्दै आश्चर्य र खुल्दुली प्रकट गरेका थिए ।
अर्को रोचक प्रसंग के छ भने प्रहरीको हेड क्वार्टर भित्रै प्रहरी सुरक्षा खतरा महसुस गर्दै कार्यक्रमस्थलमा कुकुर लगेर मञ्च वरपर सुँघाउने काम गरिएको थियो । चौबिसै घण्टा प्रहरीले पहरेदारी गर्ने त्यो पनि हेडक्वाटर जस्तो अति संवेदनशील ठाउँमा सुरक्षा व्यवस्था र सुरक्षा प्रणालीलाई विश्वास नगरेको कार्यक्रममा उपस्थित भएकाहरुले महसुुस गरेका थिए । हेड क्वार्टर भन्दा अन्य ठाउँमा त्यसो गर्नु आवश्यक थियो सुरक्षाविद्हरु बताउँछन । (साँघु साप्ताहिक, २०८० भदौ २५)



