🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

न सास भेटियो, न लास : भोटेकोशीका बेपत्ता परिवार संस्कारसमेत गर्न अन्योलमा

डीएनए नतिजाको प्रतीक्षामा बाँकेका पीडित परिवार, एउटै घरका तीन सदस्य बेपत्ता हुँदा चाडपर्व पनि शोकमै

बाँके, १९ कात्तिक । आफन्त फर्किने आशामा दिन गन्दागन्दै दुई महिनाभन्दा बढी बित्यो । खोजखबर आउला भनेर कुरिरहेका परिवारले न जीवित भेटिएको खबर पाए, न शव फेला परेको सूचना । रसुवाको भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका बाँकेका परिवार अहिले यही अनिश्चितताको पीडामा छन् । डीएनए परीक्षणको नतिजासमेत नआउँदा उनीहरूले मृत्यु संस्कार गर्ने आधार पनि पाएका छैनन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायका दाजु, भाउजु र छोरा गत भदौ १० गतेको बाढीमा बेपत्ता भएका थिए । आफन्तको अवस्थाबारे कुनै खबर नआएपछि जीवित भेटिने आशासँगै शव पहिचान हुने आशा पनि कमजोर हुँदै गएको उनी बताउँछन् ।

“७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ,” अनलालले भने, “डीएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।”

रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका उनका ५३ वर्षीय दाजु शेरसिंह रोकाय र ५६ वर्षीया भाउजु विष्णुमती रोकाय बाढीमा बेपत्ता भएका हुन् । उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका अनलालका १९ वर्षीय छोरा दीपक रोकाय पनि सोही बाढीमा परे ।

एक्लो छोरा र जीवनको आडभरोसा बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल र उनकी श्रीमती कर्णसरी रोकाय शोकमा छन् । आफन्तको अवस्था खुल्न नसक्दा उनीहरूका लागि यस वर्षका चाडपर्वसमेत पीडा बल्झाउने अवसर बने ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ,” अनलालले भने ।

शव पहिचानका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणको नमुना दिएपछि केही जानकारी पाइने आशा उनलाई थियो । तर नतिजा नआएकाले त्यो प्रतीक्षा पनि लम्बिएको छ ।

आफन्तको अवस्था नखुल्दा सामाजिक तथा धार्मिक संस्कार कसरी गर्ने भन्ने प्रश्नले परिवारलाई थप पिरोलेको छ । सरकारले बेपत्ताको खोजीको अवस्था र पहिचान प्रक्रियाबारे आधिकारिक जानकारी दिनुपर्ने उनको माग छ ।

“सास वा लास केहीको अत्तोपत्तो छैन । के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ,” उनले भने, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ ।”

सोही बाढीमा थपुवाकै आराम दमाईं र उजना दमाईं पनि बेपत्ता भएका थिए । रोजीरोटीका लागि रसुवा पुगेका उनीहरू नफर्किएपछि घरमा रहेका तीन सन्तान आमाबुवाको खबर कुरिरहेका छन् ।

उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका अझै आमाबुवा फर्किने आशामा छन् । बाढीले अभिभावक बेपत्ता बनाएपछि बालबालिकाको दैनिकीसमेत अनिश्चित बनेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले पीडित परिवारको अन्योल अन्त्य गर्न डीएनए परीक्षणको नतिजा शीघ्र उपलब्ध गराउनुपर्ने बताए । बेपत्ताको अवस्थाबारे सरकारले आधिकारिक जानकारी दिए परिवारलाई सामाजिक तथा धार्मिक संस्कारबारे निर्णय गर्न सहज हुने उनको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीमा परी जिल्लाका २३ जना अझै बेपत्ता छन् । हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार र पहिचानको तथ्याङ्कबीच बेपत्ताका परिवारको प्रतीक्षा भने सकिएको छैन । उनीहरू आफन्तको अवस्थाबारे स्पष्ट जवाफ चाहिरहेका छन्—ताकि अनिश्चिततामा अड्किएको जीवन र संस्कारबारे निर्णय लिन सकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *