काठमाडौं । नेपाली सेनाको सुन्दरीजल ब्यारेकबाट खटिएको टोलीले विद्यालयका विद्यार्थीलाई खाना पकाउने ग्यास चुहावट तथा आगलागीबाट हुने दुर्घटना न्यूनीकरणसम्बन्धी व्यावहारिक प्रशिक्षण दिएको छ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी सहभागी थिए। सैनिक टोलीले ग्यास सिलिन्डरबाट उत्पन्न हुन सक्ने जोखिम, दुर्घटनाका बेला अपनाउनुपर्ने सावधानी र सुरक्षित रूपमा आपत्कालीन अवस्था व्यवस्थापन गर्ने विषयमा प्रत्यक्ष प्रदर्शनसहित जानकारी दिएको हो।
प्रशिक्षणमा ग्यास चुहावट वा आगलागी हुँदा नआत्तिई परिस्थितिको मूल्याङ्कन गर्ने, आफ्नो सुरक्षालाई प्राथमिकता दिने तथा जोखिमअनुसार सुरक्षित स्थानमा जाने विषयमा जानकारी गराइएको थियो। टोलीले रेगुलेटर र भल्भको सुरक्षित प्रयोग तथा आगलागी नियन्त्रणका सावधानीबारे समेत अभ्यासमार्फत बुझाएको थियो।
विद्यार्थीलाई सैद्धान्तिक जानकारीसँगै प्रत्यक्ष प्रदर्शनमार्फत घरेलु दुर्घटनाका जोखिमबारे सचेत गराइएको विद्यालयले जनाएको छ। विशेषगरी घरमा प्रयोग हुने ग्यास सिलिन्डरको असावधानीपूर्ण प्रयोगबाट हुन सक्ने दुर्घटना रोक्न प्रशिक्षण उपयोगी भएको विद्यालयको भनाइ छ।
विद्यालय परिवार र विद्यार्थीले प्रशिक्षणमा सहभागी सैनिक टोली तथा सुन्दरीजल ब्यारेकप्रति आभार व्यक्त गरेका छन्।




