कर्णाली, १९ कात्तिक । कर्णाली प्रदेशका मन्त्रालयलाई एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यसहित निर्माण सुरु गरिएको एकीकृत प्रशासनिक भवनको काममा गुणस्तर सुनिश्चित गर्न भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले निर्देशन दिएका छन्।
प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको वीरेन्द्रनगर नगरपालिका–७, इत्रामस्थित निर्माणाधीन भवनको बुधबार स्थलगत निरीक्षण गर्दै मन्त्री रोकाले प्राविधिक मापदण्ड, निर्माण सामग्रीको गुणस्तर र जिम्मेवारीको स्पष्टतामा विशेष ध्यान दिन आग्रह गरेका हुन्।
मन्त्री रोका र मन्त्रालयका सचिव अर्जुनकुमार बमले आयोजनाको कार्यप्रगति, प्राविधिक पक्ष, प्रयोग हुने सामग्री तथा कार्यान्वयनका क्रममा आउन सक्ने चुनौतीबारे जानकारी लिएका थिए।
एउटै परिसरबाट मन्त्रालयका सेवा
मन्त्री रोकाले एकीकृत प्रशासनिक भवन प्रदेशको प्रशासनिक सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संरचना भएको बताए। निर्माण सम्पन्न भएपछि मन्त्रालयका प्रशासनिक कामकारबाही एउटै स्थानबाट सञ्चालन गर्न र सेवा प्रवाह व्यवस्थित बनाउन आधार तयार हुने उनको भनाइ थियो।
उनले निर्माणमा संलग्न निकाय र मन्त्रालय दुवै जिम्मेवार तथा जवाफदेही भएर अघि बढ्नुपर्ने बताए। स्रोतसाधनको उपलब्धता र परिचालनमा आवश्यक समन्वय गरिने उल्लेख गर्दै उनले कामको जिम्मेवारी स्पष्ट बनाउन निर्देशन दिए।
निर्माणका क्रममा विभिन्न पक्षका फरक बुझाइ र चुनौती आउन सक्ने भन्दै मन्त्री रोकाले समग्र प्रादेशिक आवश्यकतालाई ध्यानमा राखेर काम अघि बढाउन जोड दिए।
हरेक महिना प्रगति र गुणस्तरको समीक्षा
निरीक्षणका क्रममा सचिव बमले आयोजनाको प्रगति र गुणस्तरबारे प्रत्येक महिना नियमित छलफल गर्नुपर्ने बताए। समस्या देखिए तत्काल समाधानको पहल गर्न र निर्माणसँग सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय कायम गर्न उनले जोड दिए।
विशेषगरी सरिया, सिमेन्टलगायत निर्माण सामग्रीको परीक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। निर्माणको गुणस्तर सुनिश्चित गर्न प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रयोगशालामा खटिने प्राविधिक कर्मचारीलाई चनाखो र जिम्मेवार भएर काम गर्न सुझाए।
तीन अर्बभन्दा बढी लागत, निर्माण अवधि ३६ महिना
उक्त भवनको निर्माण लागत करिब तीन अर्ब दुई करोड २९ लाख ५८ हजार २८० रुपैयाँ रहेको छ। निर्माणको जिम्मा कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ भने पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत आयोजना कार्यान्वयन भइरहेको छ।
२०८३ असारमा ठेक्का सम्झौता भएको आयोजनाको निर्माण कार्य करिब एक महिनाअघि सुरु भएको हो। काम सम्पन्न गर्न करिब ३६ महिनाको अवधि तोकिएको छ।
सचिव बमका अनुसार प्रदेशका मन्त्रालयको प्रशासनिक कार्य एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना कर्णालीको प्रशासनिक पूर्वाधार विकासको महत्वपूर्ण योजना हो।




