कास्की, १९ कात्तिक । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोट र तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा गण्डकी प्रदेश आर्चरी सङ्घले विभिन्न इभेन्टमा १२ पुरुष र १० महिला गरी २२ खेलाडी छनोट गरेको छ।
पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा दुई दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी टुङ्गो लगाइएको सङ्घका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए।
छनोटमा कास्की, बागलुङ, म्याग्दी र मुस्ताङका ३४ खेलाडी सहभागी थिए। तीमध्ये २४ पुरुष र १० महिला थिए। सहभागी सबै १० महिला प्रदेश टोलीमा छनोट भएका छन् भने पुरुषतर्फ २४ मध्ये १२ जनाले स्थान बनाएका छन्।
रिकर्भमा अशिम र रोजिना अगाडि
रिकर्भ ओपन पुरुषतर्फ कास्कीका अशिम शेरचनले सर्वाधिक ६२७ अङ्क प्राप्त गर्दै प्रदेश टोलीमा स्थान बनाए। बागलुङका दुर्गा घर्ती मगर ६१७, मुकेश रोका मगर ५७९ र खड्कबहादुर घर्ती मगर ५७४ अङ्कसहित छनोट भए।
महिलातर्फ कास्कीकी रोजिना थापा मगर ५०४ अङ्कसहित शीर्ष स्थानमा रहिन्। अनुश्का शेरचनले ४७९, रिना गुरुङले ४७३ र सलिना गुरुङले ४१५ अङ्क प्राप्त गर्दै छनोटमा स्थान बनाए।
कम्पाउण्डमा सुरेशको सर्वाधिक अङ्क
कम्पाउण्ड पुरुषतर्फ कास्कीका सुरेश गुरुङले सर्वाधिक ६७६ अङ्क प्राप्त गरे। यस इभेन्टमा म्याग्दीका सुमन गुरुङ तथा कास्कीका करुण बराल र खम्बा गुरुङ पनि छनोट भए।
कम्पाउण्ड महिलातर्फ कास्कीका मोनिका राना र निता केसीले प्रदेशको प्रतिनिधित्व गर्ने भएका छन्।
स्ट्यान्डर्ड पुरुषतर्फ बागलुङका महित घर्ती मगर र रामबहादुर घर्ती मगर तथा म्याग्दीका प्रवेश फगामी र मिलन जुम्जाली छनोट भए। महिलातर्फ कास्कीका सैनानी श्रेष्ठ, जयल इशा आचार्य, सलिना गुरुङ र आरधना थापाले स्थान बनाएका छन्।
छनोट प्रतियोगितामा कास्कीबाट १७, बागलुङ र म्याग्दीबाट छ–छ तथा मुस्ताङबाट पाँच खेलाडी सहभागी थिए।
छनोटसँगै बजेट व्यवस्थापनको पहल
आर्चरीसँगै अन्य खेल सङ्घहरूले पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट र तयारी अघि बढाएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीले निर्धारित मापदण्डअनुसार खेलाडी छनोट गर्न र प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित जिल्ला खेलकुद विकास समितिहरूलाई आग्रह गरेको छ।
परिषद्ले स्थानीय तह, जिल्ला खेलकुद विकास समिति र सम्बन्धित सरोकारवालाबीच समन्वय गरी तोकिएको समयभित्र छनोट सम्पन्न गर्न अनुरोध गरेको छ। खेलाडी छनोट तथा प्रदेश टोली निर्माणका लागि आवश्यक बजेट माग गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरिसकिएको परिषद्ले जनाएको छ।
यसअघि गण्डकी प्रदेशको पोखरामा २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। उक्त प्रतियोगितामा गण्डकी सात प्रदेशमध्ये पहिलो भएको थियो।
नवौँ राष्ट्रिय खेलकुदको समापनमा दुई वर्षपछि कर्णालीमा दसौँ संस्करण आयोजना गर्ने घोषणा गरिएको थियो। तर घोषित समयभन्दा ढिलो गरी चार वर्षपछि प्रतियोगिता हुन लागेकाले खेलाडी छनोटसँगै प्रशिक्षण र व्यवस्थापनको तयारीले पनि महत्त्व पाएको छ।




