जनकपुरधाम, २०८३ कात्तिक १८ । जयनगर-जनकपुरधा-बिजलपुरा रेल सेवालाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ।
अभियानका सदस्यहरूले २०८३ कात्तिक १८ गते बुधबार जनकपुरधामस्थित रेल्वे कार्यालयमा पुगेर महाप्रबन्धक परिवेश पराजुलीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले स्टेसन तथा प्लेटफर्मको सरसफाइ, यात्रु सुविधा, भौतिक संरचनाको मर्मतसम्भार र सेवा विस्तारलगायतका विषयमा तत्काल सुधार गर्न माग गरेका छन्।
भारतको अयोध्याबाट जनकपुरधामसम्म रामायण सर्किटअन्तर्गत रेल सेवा सञ्चालनको तयारी भइरहेका बेला यहाँको रेल्वे परिसर र यात्रु सुविधाको अवस्थाले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने अभियानको भनाइ छ।
प्लेटफर्मको सफाइ र यात्रु सुविधामा जोड
ज्ञापनपत्रमा रेल चढ्ने र ओर्लिने यात्रुको सहज तथा सुरक्षित आवागमनका लागि उचित व्यवस्था मिलाउन माग गरिएको छ। प्लेटफर्मको दैनिक सरसफाइको अवस्था दयनीय रहेको उल्लेख गर्दै अभियानले प्रभावकारी सफाइ व्यवस्था लागू गर्न आग्रह गरेको छ।
यात्रु प्रतीक्षालयलाई सुविधासम्पन्न र व्यवस्थित बनाएर नियमित सञ्चालनमा ल्याउनुपर्ने माग पनि गरिएको छ। त्यस्तै, खानेपानी र शौचालयको उचित व्यवस्थापन गरी नियमित सञ्चालन सुनिश्चित गर्न अभियानले ध्यानाकर्षण गराएको छ।
प्लेटफर्मका बिग्रिएका भौतिक संरचनाको तत्काल मर्मतसम्भार गर्न तथा लामो समयदेखि सञ्चालनमा नरहेका विद्युतीय उपकरण र अन्य साधन मर्मत गरी प्रयोगमा ल्याउनसमेत माग गरिएको छ।
खाली जग्गामा पार्क, सटर सञ्चालनको माग
अभियानले रेल्वे कम्पनीको कम्पाउन्डभित्र रहेका खाली तथा घेराबार गरिएका जग्गालाई व्यवस्थित पार्क र बगैँचाका रूपमा विकास गर्न सुझाव दिएको छ।
रेल्वे परिसरमा दैनिक हाटबजारका लागि निर्माण गरिएका सटर तथा भवन लामो समयदेखि पूर्ण रूपमा उपयोगमा आउन नसकेको उल्लेख गर्दै तिनलाई अविलम्ब सञ्चालनमा ल्याउन पनि माग गरिएको छ।
रेल्वे क्रसिङको सुरक्षामा ध्यानाकर्षण
रेल्वे क्रसिङ क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको दाबी गर्दै अभियानले सुरक्षा व्यवस्थालाई प्राथमिकता दिन आग्रह गरेको छ। क्रसिङ आसपासका सडक मर्मत गर्नुका साथै आवश्यक सङ्केत, छेकबार र अन्य सुरक्षा प्रबन्ध मिलाउनुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ।
डब्बा थप्ने प्रस्ताव पेस भइसकेको महाप्रबन्धकको भनाइ
ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक पराजुलीले मर्मतसम्भार र सरसफाइका काम दैनिक रूपमा भइरहेको बताउँदै ती कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। यात्रुको चापलाई ध्यानमा राखेर रेलका डब्बा थप्ने र सेवा सञ्चालनको आवृत्ति बढाउने प्रस्ताव पेस गरिसकेको उनले जानकारी दिए।
रेल्वे परिसरमा भाडामा लगाउने उद्देश्यले निर्माण गरिएका कोठाहरू कम्पनीलाई हस्तान्तरण हुन बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ थियो। हस्तान्तरण भएलगत्तै आवश्यक प्रक्रियाबाट ठेक्का वा भाडामा लगाइने उनले बताए।
अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै पराजुलीले ट्र्याक परीक्षणका लागि बिहीबार अर्थात् २०८३ कात्तिक १९ गते भारतीय रेल आउन लागेको बताए।




