काठमाडौँ, १५ कात्तिक । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता २५ जना प्रहरी कर्मचारीले जागिर गुमाएको जानकारी दिँदै आर्थिक अनियमितता र प्रहरी आचरणविपरीत काम गर्नेलाई छुट नदिने चेतावनी दिएका छन्।
कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल र अन्तरक्रियामा काफ्लेले सडकमा खटिने ट्राफिक प्रहरीले आर्थिक अनुशासन, इमानदारी र पदीय आचरणमा सम्झौता गर्न नहुने बताए। प्रहरी ऐन तथा नियमविपरीत काम गर्ने कसैले उन्मुक्ति नपाउने उनको भनाइ थियो।
राज्यले उपलब्ध गराएको तलब र सेवा सुविधाप्रति सन्तुष्ट रही जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले आर्थिक अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए। सरकारी सेवा सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक बाटो रोज्न सकिने तर सेवामा रहेर अनियमितता गर्न नपाइने उनले स्पष्ट पारे।
काफ्लेले सेवामा प्रवेश गर्दा लिएको शपथ सम्झेर देश र नागरिकको सेवामा प्रतिबद्ध हुन कर्मचारीलाई आग्रह गरे।
उनले २५ जना कर्मचारीले जागिर गुमाएको जानकारी दिए पनि ती कर्मचारीमाथि भएका कारबाहीका छुट्टाछुट्टै कारण भने कार्यक्रममा खुलाइएन।
कार्यक्रममा कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले ट्राफिक प्रहरीको जिम्मेवारी सवारीसाधनको आवागमन व्यवस्थित गर्ने काममा मात्रै सीमित नरहेको बताए। नागरिकको जीवनरक्षा, सार्वजनिक सडक सुरक्षा र सडक अनुशासन कायम गर्नु पनि ट्राफिक प्रहरीको महत्त्वपूर्ण दायित्व भएको उनको भनाइ थियो।
सुवेदीले बर्दीको सम्मान, कानुनको पालना र नागरिकको विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। कर्तव्यलाई सेवाका रूपमा लिएर जिम्मेवारी निर्वाह गर्दा मात्रै नागरिकको भरोसा जित्न सकिने उनले बताए।




