काठमाडौं, १० कात्तिक । काठमाडौंको तिलगंगास्थित एक गेस्ट हाउसबाट लागुऔषध खैरो हेरोइन र पाँच लाख ८० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ७ गते काठमाडौं महानगरपालिका–९ स्थित गेस्ट हाउसबाट उनीहरूलाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-२ ठेगाना भएका २० वर्षीय भेष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र २६ वर्षीय महमद रजाबुल शेख रहेका छन् ।
उनीहरूले गेस्ट हाउसमा कोठा बुक गरी बसेर सोही स्थानबाट खैरो हेरोइन बिक्री गर्दै आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो टोलीले उनीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन र पाँच लाख ८० हजार रुपैयाँ नगद बरामद गरेको छ ।
बरामद नगदको स्रोत तथा घटनामा पक्राउ परेकाहरूको भूमिकाबारे विज्ञप्तिमा थप विवरण खुलाइएको छैन । चारै जनामाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।




