काठमाडौं, १० कात्तिक । कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको छलफलमा सहभागीहरूले औपचारिक माध्यमबाट नेपालमा विप्रेषण पठाउँदा लाग्ने शुल्क घटाउन र प्रक्रिया सहज बनाउन सुझाव दिएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल नेतृत्वको प्रतिनिधिमण्डलको सहकार्य तथा उपस्थितिमा दोहास्थित राजदूतावासमा “विप्रेषण, हुन्डी र वित्तीय समावेशीकरण” विषयक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव देवराज जोशीले वैदेशिक रोजगारी र विप्रेषणको नेपालको अर्थतन्त्रसँगको सम्बन्धबारे प्रस्तुति दिनुभएको थियो । उहाँले विप्रेषणलाई औपचारिक प्रणालीमा ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे जानकारी गराउनुभएको राजदूतावासले जनाएको छ ।
प्रस्तुतिपछि भएको खुला छलफलमा सहभागीहरूले औपचारिक माध्यमबाट रकम पठाउँदा भोग्नुपरेका समस्या र झन्झटबारे अनुभव सुनाएका थिए । उनीहरूले हुन्डी रोकथामका उपायसँगै विप्रेषण सेवाको लागत घटाउने र प्रक्रिया थप सरल बनाउने विषयमा व्यावहारिक सुझाव राखेका थिए ।
डेपुटी गभर्नर रावलले छलफलबाट नीति निर्माण तहका लागि महत्त्वपूर्ण पृष्ठपोषण प्राप्त भएको बताउनुभयो । नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले सहभागीबाट उठेका विषयमा जवाफ दिनुभएको थियो ।
कार्यक्रमको समापनमा कार्यवाहक राजदूत कुमार राईले सबै नेपालीलाई औपचारिक तथा सुरक्षित माध्यमबाट मात्र विप्रेषण पठाउन आग्रह गर्नुभयो ।
राजदूतावासको बैठक हलमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार, नेपाल व्यवसायी संघ कतार, कतारस्थित नेपाली बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र राजदूतावासका कर्मचारी सहभागी थिए ।




