२०४८ सालदेखि २०८२ सालसम्म जनताको म्यान्डेट पाएका प्रधानमन्त्रीहरूले देशलाई धनी बनाउने निम्न कामहरू किन गरेनन् होला ?
१. पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना भारतका लागि त्यति महत्त्वपूर्ण नभए पनि नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण आयोजना हो । भारतसँग कुरा नमिलेर सन् २०१४ मा स्थापना भएको पञ्चेश्वर विकास प्राधिकरणको काम १२ वर्षसम्म ठप्प हुँदा भारतसँग कुरा मिलाउन प्रधानमन्त्री आफैँ लाग्नुपर्ने होइन र ?
२. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन विमानस्थलमा बढ्दै गइरहेको हवाई ट्राफिकलाई दृष्टिगत गर्दा निकट भविष्यमै यसले चाप धान्न नसक्ने निश्चित छ । आधुनिक मुलुक बन्न र पर्यटन क्षेत्र फस्टाउन अनिवार्य रूपमा आवश्यक सम्पूर्ण सुविधासहितको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल अर्थात् निजगढ विमानस्थल निर्माणको फाइल २०–२५ वर्षअघिदेखि गायबजस्तै भएपछि प्रधानमन्त्री आफैँले फाइल खोज्न पहल गर्नुपर्ने होइन र ?
३. ठूला जलविद्युत् आयोजना
ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न गरेर बिजुली निर्यात गर्ने कल्पना जनताले गरिरहेको ३०–३५ वर्ष भइसक्यो । यो कल्पना साकार पार्न ठूला जलविद्युत् आयोजनाका लागि विदेशी लगानी खोज्न निर्देशन दिई प्रधानमन्त्री आफैँले चासो राखेर त्यसको पछि लाग्नुपर्ने होइन र ?
४. विद्युत्बाट चल्ने रेलमार्ग
वर्षेनि खर्बौँ रुपैयाँको डिजेल र पेट्रोल खपत भइरहेको छ । यसको विकल्पमा विद्युत्बाट चल्ने लामो दूरीका रेलमार्ग निर्माणका लागि विदेशी लगानी भित्र्याउन प्रधानमन्त्री आफैँले पहल गर्नुपर्ने होइन र ?
५. ठूला सिँचाइ आयोजना
तीन करोड जनतालाई खाना खुवाउने कृषिको उत्पादन बढाउन आवश्यक ठूला सिँचाइ आयोजनाहरू कछुवाको गतिमा अघि बढिरहेको जानकारी पाएपछि त्यसका कारण पत्ता लगाएर समस्या समाधान गर्न प्रधानमन्त्री आफैँले पहल गर्दै जानुपर्ने होइन र ?
६. नेपाल वायुसेवा निगमको सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा अत्यन्त ठूलो भूमिका खेल्ने नेपाल वायुसेवा निगमले २०६५ सालमा अन्तर्राष्ट्रिय सेवा विस्तार गर्न छवटा विमान खरिद गर्न खोज्दा विभिन्न निकायबाट भाँजो हालिएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरेर निगमलाई विमान खरिदमा मद्दत गर्नुपर्ने होइन र ?
२०४८ देखि २०६४ सालसम्मको १६ वर्षमा सरकारले निगमलाई पटक्कै मद्दत नगरे पनि २०६५ सालमा निगमले छवटा जेट विमान खरिदका लागि विश्वव्यापी बोलपत्र आह्वान गरी सरकारलाई बाटो देखाइसकेको थियो । त्यसपछि हरेक प्रधानमन्त्रीले विमान खरिद गर्दै व्यापार बढाउन निगमलाई मद्दत गर्दै जानुपर्ने होइन र ?
७. नागरिक उड्डयन प्राधिकरणको विभाजन
सन् २०१३ मै नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने निर्णय भइसके पनि वर्षौँसम्म कार्यान्वयन हुन सकेन । युरोपेली सङ्घ (ईयू) को कालोसूचीबाट निस्कन मद्दत गर्ने यो काममा प्रधानमन्त्री आफैँले केरकार गरेर फाइलको पछि लाग्नुपर्ने होइन र ?
८. निजी क्षेत्रका समस्या र रोजगारी सिर्जना
मुलुकमा ९० प्रतिशत रोजगारी प्रदान गरिरहेको निजी क्षेत्रले उद्योग–व्यापारका समस्या समाधान गर्न सरकारसमक्ष लगातार अनुनयविनय गरिरहँदा पनि मन्त्री र कर्मचारीतन्त्र कानमा तेल हालेर बसेपछि प्रधानमन्त्री आफैँले हस्तक्षेप गरेर रोजगारी सिर्जनामा टेवा दिनुपर्ने होइन र ?
९. आदि, इत्यादि !




