🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बाढीमा ज्यान गुमाएकाको पहिचानमा सहयोग गर्न दुई सेट उपकरण हस्तान्तरण, उद्धार कोषमा एक करोड

काठमाडौं । बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि आवश्यक डीएनए परीक्षणको नमुना प्रशोधनमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी उत्तम नेपालले सरकारलाई दुई सेट उपकरण हस्तान्तरण गरेका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूले क्यूआइएजेन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् । यी उपकरण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी रहेको कार्यक्रममा जानकारी दिइयो ।

लन्डनस्थित युमी इन्टरनेसनल लिमिटेडका निर्देशकसमेत रहेका नेपालले आफ्नो परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा आचार्यले गत अगस्ट २६ मा रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीपछि विश्वभरका गैरआवासीय नेपालीले पीडितको सहयोगका लागि लाखौँ डलर उपलब्ध गराएको बताए । उपकरण नेपाल ल्याउने क्रममा प्राविधिक र कानुनी कठिनाइ सामना गर्नुपरेको अनुभव पनि उनले सुनाए ।

संकटका बेला मातृभूमिलाई सम्भव भएसम्म सहयोग गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै आचार्यले उपकरण हस्तान्तरणलाई त्यसैको एउटा प्रयासका रूपमा व्याख्या गरे । आवश्यक उपकरणबारे जानकारी गराउने र सम्बन्धित निकायसँग समन्वय गर्ने काममा सहयोग पुर्‍याएको भन्दै उनले सांसद विदुषी राणालाई धन्यवाद दिए ।

व्यवसायी नेपालले कठिन परिस्थितिमा नेपाल सरकार र विपत्पीडितको सहयोगमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

परराष्ट्रमन्त्री खनालले बाढीपछि मृतकका शव पहिचानमा कठिनाइ भइरहेको अवस्थामा प्राप्त उपकरण उपयोगी हुने बताए । उनले आचार्य र नेपाललाई धन्यवाद दिँदै भोटेकोशी–त्रिशूली विपत्तिपछि गैरआवासीय नेपाली समुदायले देखाएको सहयोग र सद्भावको प्रशंसा गरे ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले सामना गरिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन पनि उनले गैरआवासीय नेपालीलाई आग्रह गरे । सहयोग परिचालनमा देखिने कानुनी वा नीतिगत समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सांसद राणाले विदेशमा रहेका नेपालीको परोपकारी भावनाको सम्मान गर्दै विपत्पछिको अवस्थामा थप सहयोग र सहकार्य आवश्यक रहेको बताइन् । कार्यक्रममा सरकारी अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *