बैंकक । बारको बिल तिर्न नसकेको विवादमा ग्राहकको कपाल नै खौरिदिन मिल्छ ? थाइल्यान्डको राजधानी बैंककमा २०२६ अगस्टमा सार्वजनिक भएको एउटा घटनाले व्यवसायीको रकम असुली गर्ने तरिका र ग्राहकको मर्यादाबारे प्रश्न हालसम्म उठिरहेको छ।
बैंककको पिन्क्लाओ क्षेत्रस्थित एक ‘होस्ट बार’मा करिब ६० हजार थाई भाटको बिल तिर्न नसकेकी युवतीको कपाल खौरिएर असुलेको घटना सार्वजनिक भएको थियो। २०२६ अगस्ट २५ को उक्त घटनाबारे स्थानीय सञ्चारमाध्यमले अगस्ट २८ देखि समाचार प्रकाशित गरेका थिए। याे घटना बैंककमा अहिलेसम्म पनि चर्चाकाे विषय बनिरहेकाे छ ।
प्रकाशित विवरणअनुसार बार व्यवस्थापनले युवतीलाई कपालको मूल्य तीन हजार भाट तोकिएको सम्झौतामा हस्ताक्षर गराएको थियो। उक्त रकम बाँकी बिलबाट घटाउने भनिएपछि उनको कपाल खौरिएको रिपोर्टमा उल्लेख छ।
तर, सम्झौतामा हस्ताक्षर भएको दाबीले मात्र विवाद टुङ्गिएको छैन। बार पक्षले सहमतिमा कपाल काटिएको बताएको छ भने युवतीले कपाल छोटो पारिने मात्र बुझेको र पूरै खौरिने सहमती नभएको बताएकी छिन्। यही फरक दाबीले घटनामा सहमति कस्तो अवस्थामा लिइएको थियो भन्ने प्रश्न हालसम्म पनि उठाइएको छ।
घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक अभियन्ता चालिदा फलामातले बारको व्यवहारको आलोचना गरेकी थिइन्। रकम नतिरेको विवाद प्रहरीमा लैजानुको सट्टा ग्राहकको कपाल खौरिएर असुलेको भन्दै उनले दबाबमा लिइएको सहमतिमाथि प्रश्न उठाएकी थिइन्।
पछिल्ला रिपोर्टअनुसार १८ वर्षीया युवतीले अगस्ट २८ मा प्रहरीमा उजुरी दिएकी थिइन्। उनले बारका व्यवस्थापक र कर्मचारीबाट धम्की दिइएको आरोप लगाएकी छिन्। व्यवस्थापकले भने हिंसाको आरोप अस्वीकार गर्दै युवती र उनकी आमाको सहमतिमा कपाल काटेर बिल असुलेकाे दाबी गरेका छन्।
चालिदाका अनुसार बार पक्षले घटनाप्रति माफी माग्दै युवतीको परिवारसँग क्षतिपूर्तिबारे छलफल गर्ने बताएको थियो। यद्यपि क्षतिपूर्ति भुक्तानी भएको वा विवादको अन्तिम कानुनी टुङ्गो लागेको पुष्टि हुन सकेकाे छैन ।
बिल असुलीको विवाद आफ्नो ठाउँमा छ। तर त्यसलाई समाधान गर्ने क्रममा ग्राहकको शरीर र मर्यादामाथि हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नले थाइल्याण्डकाे समाजमा टिकाटिप्पणी भइरहेकाे छ । युवतीमाथिका आरोप र बारको व्यवहार दुवैबारे निष्पक्ष छानबिनबाट तथ्य स्पष्ट हुन आवश्यक देखिन्छ।




