काठमाडौं । चितवनको सिनर्जी एफएमबाट पत्रकारिता सुरु गरेर भारतको डिजिटल सञ्चारमाध्यम हुँदै अमेरिका पुगेकी लेखक लीना दुवाडीले आफ्नो जीवनयात्रालाई पुस्तकमा समेटेकी छन्। उनको पहिलो पुस्तक ‘काठमाडौं टु क्यालिफोर्निया: द रोड टु रिडिस्कभरिङ सेल्फ लभ’ अमेरिकामा सार्वजनिक भएको छ।
डिजिटल मिडिया प्लेटफर्म ‘विटीफिड’की पूर्वप्रधान सम्पादक दुवाडीको पुस्तकमा नेपालदेखि भारत हुँदै अमेरिकासम्मको यात्राका अनुभव समावेश छन्। आत्मकथात्मक अनुभव र आत्मविकासका विषय जोडिएको कृतिमा व्यक्तिगत संघर्ष, सम्बन्धका उतारचढाव र आफैँलाई बुझ्ने प्रयासलाई मुख्य विषय बनाइएको छ।
बाह्य सफलता हासिल गर्ने दौडमा मानिसले आफ्नै भावना र आवश्यकतालाई कति ठाउँ दिन्छ? अरूका अपेक्षा पूरा गर्दागर्दै आफैँसँगको सम्बन्ध कमजोर त भइरहेको छैन? पुस्तकले यिनै प्रश्नवरिपरि लेखिकाका अनुभव र अनुभूतिलाई प्रस्तुत गरेको छ। जीवनका अनपेक्षित मोड र कठिन परिस्थितिले आत्मबोध तथा परिवर्तनतर्फ कसरी डोर्याउन सक्छन् भन्ने विषय पनि समेटिएको छ।
‘आत्मप्रेम स्वार्थ होइन’
दुवाडीले पुस्तकलाई आफ्नो जीवनका अनुभव शब्दमा उतार्ने र आफैँलाई बुझ्न तथा स्वीकार गर्न सिकेको यात्राको अभिव्यक्ति भनेकी छन्। सफलता, सम्बन्ध र सामाजिक अपेक्षाबीच मानिसले आफ्नै भावनालाई सुन्न बिर्सने उनको बुझाइ छ।
“मेरा अनुभवले मलाई आत्मप्रेम भनेको स्वार्थ होइन, बरु आफूलाई बुझ्ने, स्वीकार गर्ने र जीवनका चुनौतीबीच पनि आफूभित्रको शक्ति पहिचान गर्ने प्रक्रिया हो भन्ने सिकाएका छन्,” दुवाडीले भनेकी छन्।
आफ्नो अनुभव पढेर एक जना पाठकले मात्र भए पनि जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न र आफैँसँगको सम्बन्धलाई महत्त्व दिन प्रेरणा पाए लेखन सार्थक हुने उनको भनाइ छ।
पुस्तकमा आत्मप्रेमलाई भावनात्मक अभिव्यक्तिसँगै आत्मसम्मान, आन्तरिक शान्ति र भावनात्मक सुदृढतासँग जोडिएको छ। व्यक्तिगत संघर्षलाई कमजोरीका रूपमा मात्र नहेरी सिकाइ र रूपान्तरणको अवसरका रूपमा बुझ्नुपर्ने सन्देश दिन खोजिएको छ।
रेडियो, टेलिभिजन र डिजिटल पत्रकारिताको अनुभव
दुवाडीको सञ्चारकर्म चितवनस्थित सिनर्जी एफएमबाट सुरु भएको हो। त्यसपछि भारतमा टेलिभिजन प्रस्तोताका रूपमा काम गरेकी उनले सन् २०१४ देखि पाँच वर्ष विटीफिडको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ।
सामाजिक सञ्जालमार्फत ठूलो पाठक समूहसम्म पुग्ने सामग्री उत्पादन र सम्पादकीय नेतृत्व उनको व्यावसायिक यात्राका महत्त्वपूर्ण पक्ष हुन्। अमेरिका पुगेपछि पनि उनले विभिन्न पत्रिकासँग आबद्ध भएर पत्रकारिता तथा लेखनलाई निरन्तरता दिएकी छन्।
पत्रकारितासँगै उनी आध्यात्मिक प्रशिक्षणमा पनि संलग्न छिन्। ब्रह्माकुमारी संस्थासँग आबद्ध दुवाडीले व्यक्तिगत अनुभव, सञ्चारकर्मबाट प्राप्त दृष्टिकोण र आध्यात्मिक अभ्यासबाट विकसित आत्मचिन्तनलाई पुस्तकमा जोड्ने प्रयास गरेकी छन्।
अमेजनमा उपलब्ध
पुस्तकको पेपरब्याक संस्करण अमेरिका, क्यानडालगायतका बजारमा र ई-बुक संस्करण विश्वभर उपलब्ध रहेको जानकारी दिइएको छ। पाठकले अमेजनमार्फत पुस्तक प्राप्त गर्न सक्ने जनाइएको छ।
आत्मप्रेम, व्यक्तिगत विकास र आध्यात्मिक चिन्तनमा रुचि राख्ने पाठकलाई लक्षित कृतिले अरूका अपेक्षासँगै आफ्ना भावना, आवश्यकता र आन्तरिक शान्तिलाई पनि प्राथमिकता दिन आग्रह गर्छ। विदेशसम्मको भौगोलिक यात्रासँगै आफूभित्र फर्केर हेर्ने मानसिक तथा भावनात्मक यात्रा पुस्तकको केन्द्रीय विषय बनेको छ।




