🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

विदेशका नेपाली स्वास्थ्य विज्ञलाई स्वदेशसँग जोड्दै एनआरएनए, जनकपुरमा विश्व स्वास्थ्य सम्मेलन हुने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली तथा नेपाली मूलका स्वास्थ्य विज्ञको ज्ञान, सीप, अनुभव र सञ्जाललाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले जनकपुरधाममा ‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स-२०२६’ आयोजना हुने भएको छ। आगामी डिसेम्बर ४ र ५ अर्थात् २०८३ मंसिर १८ र १९ गते हुने सम्मेलनमा झन्डै ३०० जनाको सहभागिता अपेक्षा गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मधेस सरकार र मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। नेपाल सरकार, मधेस प्रदेशका स्थानीय तह तथा विभिन्न संघसंस्थाले सम्मेलनमा सहयोग गर्ने आयोजकले जनाएका छन्।

‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ मुख्य नारा रहेको सम्मेलनले नेपाललाई ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढाउने सन्देश दिनेछ। स्वास्थ्य जनशक्तिको विदेश पलायनलाई क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन र लगानीको अवसरमा बदल्ने विषयमा छलफल गरिनेछ।

बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनिल साहले विदेशमा कार्यरत नेपाली स्वास्थ्य जनशक्तिलाई स्वदेश फर्कन तथा योगदान गर्न अनुकूल वातावरण निर्माणबारे सम्मेलन केन्द्रित हुने बताउनुभयो। उहाँले कार्यक्रमलाई दुई दिनको छलफलमा सीमित नराखी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार भिजिटिङ फ्याकल्टी, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी, मेन्टरसिप, डिजिटल स्वास्थ्य र डायस्पोरा लगानीका अवसर विस्तारलाई प्राथमिकता दिइनेछ।

वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा. डा. पदम सिम्खडाले प्रख्यात जनस्वास्थ्यविद् प्रा. जेनी ह्यारिसलगायत ५० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकको सहभागिता पुष्टि भइसकेको जानकारी दिनुभयो। उहाँले मधेसका कतिपय स्वास्थ्य सूचक राष्ट्रिय अवस्थाको तुलनामा कमजोर रहेकाले सुधारका उपायसमेत खोजिने बताउनुभयो।

वैज्ञानिक समितिका सहअध्यक्ष तथा युनिभर्सिटी अफ हडर्सफिल्डका एसोसिएट प्राध्यापक डा. राजीव कुमार साहले जन्मभूमि र मधेसको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो। स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा. डा. अङ्कुर शाहले सम्मेलनबाट जनकपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्वभरका नेपाली विज्ञको ज्ञान, सीप र सञ्जाललाई नेपालको हितमा उपयोग गर्न संघले ज्ञान तथा स्वास्थ्य सम्मेलन गर्दै आएको बताउनुभयो। प्रवासी स्वास्थ्य जनशक्तिलाई स्वदेशको आवश्यकतासँग जोड्न सके सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने उहाँको भनाइ थियो।

शर्माले जनवरी २०२७ मा काठमाडौँमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन र एनआरएन दोस्रो पुस्ता सहभागी सम्मेलन आयोजना गर्ने तयारीबारे पनि जानकारी दिनुभयो। उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले ज्ञान आदानप्रदानमा सम्मेलन उपयोगी हुने बताउनुभयो भने सचिव प्रसुना कँडेलले नर्सको सीप विकास र निरन्तर पेसागत उन्नतिबारे छलफल गरिने उल्लेख गर्नुभयो।

सम्मेलनमा सरकारी प्रतिनिधि, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, विकास साझेदार तथा निजी क्षेत्रको सहभागिता रहनेछ। चिकित्सा शिक्षा, फेलोसिप, टेलिमेडिसिन, प्रविधि हस्तान्तरण र स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको सेवा सुदृढीकरण प्रमुख छलफलका विषय हुनेछन्।

सम्मेलनबाट ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन–२०२६’ जारी गर्ने तयारी छ। साथै अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य र मेन्टरसिपमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य राखिएको छ। जनकपुरको आयोजनाले अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यलाई प्रदेश र स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ।

नेपालमा पहिलोपटक हुन लागेको यो सम्मेलनको पहिलो संस्करण अमेरिकाको एटलान्टा, तेस्रो लन्डन, चौथो सिड्नी र पाँचौँ टोकियोमा भएको थियो। दोस्रो सम्मेलन भने कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *