काठमाडौँ, १७ असोज। म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र लेबल लगाएर बिक्रीवितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५, तीनथानास्थित सिद्धि विनायक खाद्य स्टोरबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले २०८३ असोज १६ गते जारी गरेको विज्ञप्तिअनुसार, उक्त स्टोरमा मापदण्डविपरीत म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति राखेर बिक्री भइरहेको सूचनाका आधारमा २०८३ असोज १५ गते संयुक्त टोलीले अनुगमन गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले स्टोरमा स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा मिति उल्लेख नभएका खाद्यान्नमा नयाँ मिति र लेबल लगाएर बिक्रीवितरण गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा खाद्यान्न, लेबलिङ स्टिकर तथा मिति राख्न प्रयोग हुने उपकरणसमेत बरामद गरिएको छ।
नियन्त्रणमा लिइएकामा बाराको प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको तीनथानामा बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्साको विन्दवासिनी गाउँपालिका–२, बहुअर्वा भाठा घर भई तीनथानामै बस्ने ४९ वर्षीय अखिलेश प्रसाद कलवार रहेका छन्।
मिति राख्ने मेसिनदेखि लेबलिङ स्टिकरसम्म बरामद
प्रहरीका अनुसार स्टोरबाट मिति उल्लेख गर्ने एक थान मेसिन र बोरा सिलाउने एक थान मेसिन बरामद गरिएको छ। त्यसैगरी ‘Makawanpuri Rajma’, ‘Abir/Keshari’, ‘Brazallian Popcorn’, ‘Local Khairo till’, ‘Okhar item’ र ‘item Kerau’ लेखिएका लेबलिङ स्टिकरहरू फेला परेका छन्।
बरामद खाद्यान्नमा म्याद गुज्रिएको एक बाल्टी काजु, चार बोरा कालो भटमास, दुई बोरा मकै र एक बोरा हरियो केराउ रहेका छन्। पिस्ता र आल्मन्ड एक–एक कार्टुन तथा ल्यापटप र प्रिन्टरसमेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ।
म्याद सकिएका तथा मिति नै नखुलेका खाद्यान्नलाई नयाँ मिति र लेबल लगाएर बिक्री गरेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बरामद सामग्रीको कुल मूल्य र त्यस्ता खाद्यान्न बिक्री भएको परिमाण भने विज्ञप्तिमा खुलाइएको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उल्लेख छ।




