काठमाडौं, १७ असोज। इङ्लिस क्लब म्यानचेस्टर सिटीले प्रिमियर लिगको आर्थिक नियम उल्लङ्घनसम्बन्धी आरोपमा दोषी ठहरिएपछि सो निर्णयविरुद्ध पुनरावेदन (अपिल) दर्ता गरेको पुष्टि गरेको छ।
एक संक्षिप्त विज्ञप्ति जारी गर्दै क्लबले आयोगको निर्णयमा “कानुन, सिद्धान्त र तथ्यसम्बन्धी स्पष्ट तथा गम्भीर त्रुटिहरू” रहेको र सो निर्णय आधारहीन एवं त्रुटिपूर्ण रहेको दाबी गरेको छ। आफू निर्दोष रहेको अडान दोहोर्याउँदै सिटीले बिहीबार साँझ नै आफ्नो दाबीको समर्थनमा अकाट्य प्रमाणहरूको विस्तृत विवरण पेस गरेको जनाएको छ।
यसअघि शुक्रबार इङ्ल्यान्डको फुटबल एसोसिएसनले सिटी विरुद्धको फैसलाले “खेलको निष्पक्षता र विश्वसनीयतामा गम्भीर असर” पार्ने बताएको थियो। एफलेले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी यस निर्णय र यसका असरहरूबारे सावधानीपूर्वक विचार गरिरहेका छौँ र उपयुक्त देखिएमा आवश्यक कदम चाल्नेछौँ। प्रिमियर लिग र म्यानचेस्टर सिटीबिच कानुनी प्रक्रिया जारी रहेकाले यस चरणमा थप टिप्पणी गर्न चाहँदैनौँ तर घटनाक्रमलाई नजिकबाट नियालिरहनेछौँ।” एफलेसँग भएको व्यापक अधिकारका कारण उसले थप प्रतिबन्धको चेतावनीसहित यस विषयमा आफ्नै छुट्टै अनुसन्धान सुरु गर्न सक्ने सम्भावना पनि छ।
गत बिहीबार सन् २००९-१० देखि २०१७-१८ सिजनको बिचमा आर्थिक नियम उल्लङ्घनसम्बन्धी आरोपहरूमा सिटी दोषी पाइएको पुष्टि भएको थियो। समाचार अनुसार पुनरावेदनका क्रममा सिटीले आफ्ना मुख्य प्रायोजन सम्झौताहरू क्लबका मालिकबाट नभई अबुधाबी सरकारबाट वित्तपोषित भएको दाबी गर्ने अपेक्षा गरिएको छ।
स्वतन्त्र प्यानलको निष्कर्ष अनुसार सिटीले ८३ करोड पाउन्ड (८३० मिलियन) भन्दा बढीको गोप्य लगानी लुकाउन धेरै व्यावसायिक साझेदारहरूसँग “नक्कली सम्झौता” गरेको थियो। प्रिमियर लिगले सिटीले करिब एक दशकसम्म नियमहरूको व्यवस्थित रूपमा उल्लङ्घन गरेको र आफ्ना दायित्वहरूको वास्तविक अवस्था लुकाउन विभिन्न उपाय प्रयोग गरेको जनाएको छ।
यस निष्कर्षपछि बेलायतको ‘ट्रेजरी कमिटी’ अर्थात राजस्व तथा भन्सार विभागको निगरानी गर्ने संसदीय निकायले उक्त सरकारी विभागले आयोगको प्रतिवेदनमा गोप्य राखिएका कागजातहरू माग गरे/नगरेको विषयमा प्रश्न उठाएको छ। सर्वदलीय सांसद समूहकी अध्यक्ष डेम मेग हिलियरले यस प्रकरणमा रहेको जनहितबारे बिभाग गम्भीर रहेको आश्वस्त हुन चाहेको बताएकी छन्।
‘ट्याक्स पोलिसी एसोसिएट्स’ को प्रतिवेदन अनुसार पूर्वप्रबन्धक रोबर्टो मान्सिनीसँग गरिएको एउटा “नक्कली सम्झौता’ का कारण सिटीले १ करोड २० लाख पाउन्ड कर तिर्न बाँकी राखेको दाबी गरिएको छ। नतिरेको आयकर र सामाजिक सुरक्षा करका अतिरिक्त जरिवानासहित सिटीको कुल दायित्व २ करोड ४० लाख पाउन्ड (२४ मिलियन पाउन्ड) पुग्न सक्ने अनुमान छ।




