काठमाडौं । नेपाली सेनाको जङ्गी अड्डामा आयोजित ‘पृतनापति समन्वयात्मक बैठक-२०८३’ सम्पन्न भएको छ । २०८३ असोज १५ गतेबाट सञ्चालन भएको बैठकमा सेनाले सम्पादन गरेका कार्यको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा छलफल गरिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी अशोक राज सिग्देलले यस वर्षका विपद्का घटनामा खोज तथा उद्धारमा खटिएका सकलदर्जाको कामको प्रशंसा गरे । उनले सैनिकहरूले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिकता तथा उदाहरणीय कार्यका लागि धन्यवाद व्यक्त गरे ।
प्रधानसेनापति सिग्देलले प्राप्त जिम्मेवारी आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए । विपद्का बेला खोज तथा उद्धारमा प्रदर्शन गरिएको दक्षतालाई निरन्तरता दिँदै जिम्मेवारी पूरा गर्न उनले जोड दिएका हुन् ।
बैठकमा हालसम्म सम्पादन भएका कार्यहरूको समीक्षा गर्नुका साथै वर्तमान परिस्थितिबारे छलफल गरिएको थियो । विपद् प्रतिकार्यसम्बन्धी विषय पनि बैठकको छलफलमा समेटिएको नेपाली सेनाले जनाएको छ । यद्यपि, छलफलबाट भएका निर्णय तथा आगामी कार्ययोजनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो ।




