🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना

पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ ।  बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर रोकाले जुवातास खेलाउनेलाई रू ५० हजार र खेल्नेलाई रू पाँच हजार जरिवाना तोकिएको जानकारी दिनुभयो ।

 
उहाँका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्न नपाउने नियम बनाइएको छ । लागुपदार्थका कारण घरेलु हिंसा, झै–झगडालगायत सामाजिक विकृतिका घटना बढ्नुका साथै आर्थिक अवस्था कमजोर भएका नागरिकका परिवारलाई जीविकोपार्जनमा थप समस्या हुन थालेपछि स्थानीय जनप्रतिनिधिले जरिवाना तिराउने निष्कर्ष निकालिएको वडाध्यक्ष रोकाले बताउनुभयो । 

“जुवातास, मदिरा र लागुपदार्थका कारण वडामा सामाजिक सद्भाव बिग्रिन थालेको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “लागुपदार्थविरुद्ध निगरानी बढाउनुका साथै सचेतनामूलक अभियान चलाएका छौँ ।” उहाँका अनुसार मगर र दलित समुदायको बाहुल्यता रहेको यस वडामा मदिरा र लागुपदार्थको सेवन बढी मात्रामा हुने गरेको छ । 

यस्ता गतिविधिले बालबालिकालाईसमेत नकारात्मक असर पारिरहेकाले लागुपदार्थ नियन्त्रणका लागि जरिवाना तिराउनु आवश्यक देखिएको बताउँदै वडाध्यक्ष रोकाले वडाले गरेको निर्णय अटेर गरेमा सुरक्षा निकायसँग समन्वय गरेर कारबाहीको दायरमा ल्याइने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्ला केही वर्षयता घरेलु हिंसाका घटना बढ्दै गएका छन् । 

गत आर्थिक वर्षमा मात्रै ४५ जनाले आत्महत्या गरेका छन् भने १७ जबर्जस्ती करणीका घटना भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार  यसबाहेक झै–झगडा, कुटपिटलगायतका एक सय बढी मुद्दा दर्ता भएका छन् ।