🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अमेरिकाको योसेमिटी झर्ना पुग्दा-आँखामा दृश्य, मनमा नेपाल !

प्रकृतिले हरेक देशलाई कुनै न कुनै विशिष्ट सम्पदा दिएको हुन्छ। नेपाल सगरमाथा, बुद्धको जन्मभूमि, पशुपतिनाथ र सीताको जन्मस्थलले विश्वमा परिचित छ। अमेरिकालाई चिनाउने प्राकृतिक सम्पदामध्ये क्यालिफोर्नियास्थित योसेमिटी राष्ट्रिय निकुञ्ज पनि एक रहेछ। यहाँ पुग्दा प्रकृतिको अद्भुत सिर्जना र त्यसलाई संरक्षण गर्दै पर्यटकसम्म पुर्‍याउने व्यवस्थापनको अनुपम मेल अनुभव गर्न पाइयो।

करिब तीन हजार वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज विशाल ग्रेनाइट चट्टान, मनमोहक उपत्यका, झरना, नदी, घाँसेमैदान र घना जंगलका कारण प्रसिद्ध छ। सन् १९८४ मा विश्व सम्पदा सूचीमा समावेश भएको योसेमिटी जैविक विविधता र भूगर्भीय बनावटका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँका दृश्य हेर्दा प्रकृतिले समयसँगै कति अनौठा आकृति निर्माण गर्दोरहेछ भन्ने अनुभूति हुन्छ।

सिएरा नेभादा पर्वत शृंखलामा अवस्थित योसेमिटीको भूगोल आफैँमा आकर्षक छ। हिमनदीले आकार दिएका उपत्यका र वरिपरिका विशाल चट्टानले यात्रुलाई चकित बनाउँछन्। तल्लो क्षेत्रमा न्यानो वातावरण भए पनि उचाइतर्फ चिसोपन बढ्छ। हिउँदमा परेको हिउँ वसन्तमा पग्लिँदा नदी र झरनाको बहाव बढेर दृश्य झनै मनमोहक बन्दोरहेछ।

हाम्रो भ्रमणका बेला निकुञ्जभित्र सवारीसाधन प्रवेश गराउन प्रतिगाडी ३५ डलर शुल्क लाग्थ्यो। त्यसको तुलनामा उपलब्ध सुविधा सन्तोषजनक लाग्यो। ठाउँठाउँमा शौचालय, फोहोर व्यवस्थापन र पदमार्गको व्यवस्था थियो। सवारीसाधनको चापका कारण पार्किङ खोज्न भने समय लाग्थ्यो। विशेषगरी सप्ताहान्त र बिदाका दिन पर्यटकको भीड व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुँदोरहेछ।

निकुञ्जमा क्यामेरा र दूरबिन बोकेर हिँड्ने मानिस प्रशस्तै देखिन्थे। कोही चराचुरुंगी नियालिरहेका थिए, कोही वनस्पति र चट्टानका आकृति अध्ययन गरिरहेका। हरियाली मैदान, खोलानाला र अग्ला पहाडको दृश्यले सामान्य पर्यटकलाई पनि आकर्षित गर्थ्यो। योसेमिटी मनोरञ्जनको गन्तव्यसँगै प्रकृतिबारे बुझ्ने खुला पाठशाला रहेछ।

यहाँको प्रमुख आकर्षण एल क्यापिटान हो। उपत्यकाको सतहबाट करिब नौ सय मिटर उचाइमा उठेको विशाल ग्रेनाइट चट्टानलाई फेदीबाट हेर्दा मुन्टो निकै तन्काउनुपर्दोरहेछ। यसको ठाडो भित्तामा मानिस कसरी चढ्दा हुन् भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठ्छ। विश्वका साहसिक चट्टान आरोहीका लागि प्रसिद्ध यस स्थलमा सूर्योदय र सूर्यास्तका किरणले थप आकर्षण सिर्जना गर्छन्।

अर्को परिचित आकृति हाफ डोम रहेछ। आधा गुम्बजजस्तो देखिने यो चट्टानी पहाड टाढाबाटै छुट्टिन्छ। यसको बनावटले सबैको ध्यान तान्छ। ग्लेसियर प्वाइन्टबाट हाफ डोमको दृश्य राम्ररी नियाल्न सकिन्छ। त्यसको वरिपरि देखिने पहाड, उपत्यका र झरनाले प्रकृतिको विराट रूप प्रस्तुत गर्छन्। पदयात्रा र साहसिक यात्रामा रुचि राख्नेका लागि यो विशेष आकर्षण हो।

सेक्कोया रुखका जंगल पनि योसेमिटीको अर्को सम्पदा हुन्। विशाल फेद, अग्लो आकार र लामो आयु भएका यी रुख देख्दा आश्चर्य लाग्छ। जंगलको शीतल वातावरणमा उभिँदा प्रकृतिको दीर्घ जीवन र मानिसको छोटो यात्राबीचको अन्तर महसुस हुन्छ। यस्ता सम्पदा जोगाउन निरन्तर संरक्षण कति आवश्यक छ भन्ने बोधसमेत हुन्छ।

योसेमिटी झरना यहाँको प्रसिद्ध आकर्षण हो। करिब ७३९ मिटर उचाइको यो झरना माथिल्लो, बीचको र तल्लो गरी तीन भागमा विभाजित छ। वसन्तमा हिउँ पग्लिएपछि यसको बहाव बढ्छ। नजिक पुग्न नसक्नेले पनि विभिन्न स्थानबाट दृश्य हेर्न र तस्बिर खिच्न सक्छन्। झरनाको गर्जन र वरिपरिको वातावरणले यात्रालाई अविस्मरणीय बनाउँछ।

भर्नाल झरनातर्फको यात्रा भने अझ रोमाञ्चक रह्यो। जंगल हुँदै उकालो लाग्ने पदमार्गमा ठाउँठाउँमा ढुंगाका सिँढी र आवश्यक स्थानमा फलामका रेलिङ राखिएका थिए। लौरोको सहारामा हिँडिरहेका वृद्ध पर्यटक पनि भेटिए। उकालो चढ्दै जाँदा थकाइसँगै झरना हेर्ने उत्सुकता बढ्थ्यो। जंगलको शीतलता र यात्रुको चहलपहलले बाटो रमाइलो बनाएको थियो।

झरनानजिक पुग्दा पानीका मसिना कणले शरीर भिजाउन थाले। माथिबाट तीव्र गतिमा झरेको पानी वरिपरि छरिएर पर्यटकलाई निथ्रुक्क पार्दोरहेछ। पानीको फुहारमा देखिएको सप्तरंगी इन्द्रेणी झनै मनमोहक थियो। चट्टान, साँघुरो बाटो, पानीको गर्जन र इन्द्रेणीको संगमले डर र आनन्द दुवैको अनुभूति गरायो।

ग्लेसियर प्वाइन्टबाट देखिएको योसेमिटी उपत्यका पनि स्मरणीय रह्यो। तल हरियाली जंगल, साना होटल र लज देखिन्थे भने परपरसम्म चट्टानी पहाड फैलिएका थिए। भिरालो स्थानबाट तल हेर्दा डर लागे पनि दृश्यले नजर हटाउन दिँदैनथ्यो। एउटै स्थानबाट निकुञ्जका धेरै विशेषता नियाल्न सकिने भएकाले यहाँ पर्यटकको आकर्षण हुनु स्वाभाविक थियो।

भूगोल, भूगर्भशास्त्र, जीवविज्ञान, वनस्पति र वातावरण अध्ययन गर्नेका लागि योसेमिटी खुला प्रयोगशाला हो। यहाँको भ्रमणले प्राकृतिक सम्पदाको महत्वसँगै व्यवस्थित पूर्वाधारको आवश्यकता पनि बुझायो। सुन्दर ठाउँ हुनु मात्रै पर्याप्त रहेनछ; सुरक्षित पहुँच, सरसफाइ, सूचना र संरक्षणले त्यसलाई प्रभावकारी पर्यटकीय गन्तव्य बनाउँदोरहेछ।

योसेमिटी सम्झँदा नेपालका पर्यटन सम्भावना मनमा आउँछन्। सगरमाथा, चितवन, बर्दियालगायत निकुञ्ज र अन्य प्राकृतिक गन्तव्यमा संरक्षणसँगै गुणस्तरीय पूर्वाधार विकास गर्न सके पर्यटनबाट थप लाभ लिन सकिन्छ। प्रकृतिले दिएको सम्पदालाई विवेकपूर्ण व्यवस्थापनमार्फत अवसरमा बदल्नुपर्छ। योसेमिटी यात्राले दिएको महत्वपूर्ण सन्देश यही हो।

(बायाँ हाफ डोम, बीचमा भर्नाल झरना, दायाँ योसेमिटी झरना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *