पहिलो समस्या साझा नेतृत्वको अभाव हो। अध्यक्ष फेर्नुपर्छ भन्नेहरूबीच को अगाडि बढ्ने भन्ने सहमति छैन। कुनै एक नेताले पनि केन्द्रीय कमिटीको बहुमत जुटाउने, संगठनलाई एकताबद्ध राख्ने र कार्यकर्तालाई भविष्यको भरोसा दिने क्षमता निर्विवाद रूपमा देखाउन सकेका छैनन्। ओलीसँग असन्तुष्ट नेताहरू एक ठाउँमा उभिए पनि उनीहरूको उद्देश्य एउटै छ भन्ने विश्वास कार्यकर्तामा बन्न सकेको छैन।
दोस्रो समस्या विकल्प बन्न खोज्नेहरूकै विगत हो। आज ओलीको कार्यशैलीमाथि प्रश्न उठाउनेमध्ये कतिपय नेता हिजो त्यही कार्यशैलीका समर्थक थिए। निर्णयको लाभ मिल्दा प्रशंसा गर्ने, आफूलाई असुविधा हुँदा मात्र विधि र लोकतन्त्र सम्झने प्रवृत्तिले सुधारको मुद्दालाई कमजोर बनाउँछ। चाकरीबाट पद पाउने अभ्यासमा रमाएकाहरूले स्वतन्त्र नेतृत्वको विश्वास कसरी दिलाउने ? यो प्रश्नको जवाफ उनीहरूले दिनैपर्छ।
पार्टी विभाजनको अनुभवले पनि कार्यकर्तालाई सतर्क बनाएको छ। नेतृत्वसँग चित्त नबुझ्नेबित्तिकै संगठनभित्र बहस गरेर मत जित्नुको सट्टा फूटलाई विकल्प ठान्ने प्रवृत्तिप्रति एमाले पंक्तिमा अविश्वास रहनु स्वाभाविक हो। त्यसैले ओलीको विकल्प बन्न चाहनेले पहिले एउटा प्रतिबद्धता देखाउनुपर्छ-असहमति राख्ने, प्रतिस्पर्धा गर्ने, तर पार्टीको भविष्यलाई व्यक्तिगत पदसँग नजोड्ने।
तेस्रो प्रश्न नैतिक जवाफदेहिताको हो। हिजो ओलीलाई नेतृत्वमा पुर्याउन भूमिका खेलेकै कारण कसैको आज आलोचना गर्ने अधिकार खोसिँदैन। राजनीतिक परिस्थितिको पुनर्मूल्यांकन गर्न सकिन्छ। तर ‘हिजो किन साथ दियौँ र अहिले के गल्ती देख्यौँ ?’ भन्ने सार्वजनिक आत्मसमीक्षा आवश्यक छ। आफ्नै भूमिकामाथि मौन बसेर अध्यक्षमाथि मात्रै सबै दोष थोपर्ने हो भने परिवर्तनको माग विश्वसनीय बन्दैन।
चौथो पक्ष संगठनको अंकगणित हो। बाहिरबाट हेर्दा ओलीको विरोध ठूलो देखिन सक्छ; अध्यक्ष बदल्ने निर्णय भने पार्टीका वैधानिक निकाय र प्रतिनिधिहरूले गर्छन्। त्यहाँ ओलीको प्रभाव बलियो छ। पछिल्लो बैठकमा नेतृत्वबारे प्रश्न उठे पनि प्रमुख नेताहरूबाट अध्यक्ष पदमा सीधा दाबीभन्दा सहमति र पुनर्संरचनाको भाषा बढी सुनिएको छ। यसले चुनौती दिने मनसाय र चुनौती दिन सक्ने तयारीबीचको दूरी देखाउँछ।
पाँचौँ समस्या ‘फरक मत’लाई पनि पद प्राप्त गर्ने भर्याङ बनाउने राजनीति हो। बैठकमा विरोध गरेजस्तो गर्ने, कार्यकर्तामाझ आफूलाई परिवर्तनको पक्षधर बताउने, तर अवसर देखिनेबित्तिकै पुरानै नेतृत्वको वरिपरि पुग्ने व्यवहारले विकल्प जन्माउँदैन। यस्तो दोहोरो भूमिकाबाट नेतृत्वको नैतिक बल पनि आउँदैन। कार्यकर्ताले भाषणभन्दा व्यवहार हेर्छन्।
इमानदार कार्यकर्ताको निराशा बुझ्ने कामसमेत पर्याप्त भएको छैन। उनीहरूलाई केवल ‘अध्यक्ष फेरौँ’ भन्ने नारा चाहिएको होइन। पार्टीभित्र मत राख्दा के हुन्छ, योग्य व्यक्तिले जिम्मेवारी कसरी पाउँछ, गलत निर्णयको जवाफ कसले दिन्छ र जनतासँग टुटेको सम्बन्ध कसरी जोडिन्छ—यी प्रश्नमा स्पष्ट योजना चाहिएको छ। नेतृत्व दाबी गर्नेले त्यसको उत्तर नदिएसम्म कार्यकर्तामा नयाँ उत्साह पैदा हुँदैन।
यसैले तेस्रो पुस्ता अघि सर्नुपर्ने तर्क बलियो छ। तर तेस्रो पुस्ताको परिचय उमेरले मात्रै दिँदैन। उसले पुराना नेताको संरक्षण खोजेर पद लिने बाटो छाड्नुपर्छ। आफ्नै विचार, संगठन गर्ने क्षमता र खुला प्रतिस्पर्धामा उत्रने साहस देखाउनुपर्छ। पुरानै गुट, चाकरी र भागबण्डा नयाँ अनुहारले चलाउने हो भने त्यो पुस्तान्तरण होइन।
ओली अलोकप्रिय छन् भन्ने निष्कर्ष सबै एमाले कार्यकर्ताको साझा निष्कर्ष हो भनेर मान्न पनि मिल्दैन। त्यसको परीक्षण पार्टीभित्र खुला, निष्पक्ष प्रतिस्पर्धाबाटै हुनुपर्छ। विकल्प बन्न चाहनेहरूले आलोचनालाई मतमा, मतलाई संगठनमा र संगठनलाई स्पष्ट कार्यक्रममा बदल्नुपर्छ। आजसम्म उनीहरू त्यही निर्णायक चरणमा कमजोर देखिएका छन्।
एमालेमा नेतृत्व बदल्ने प्रश्नको उत्तर त्यसैले ओलीसँग मात्र छैन। उत्तर उनलाई चुनौती दिन चाहनेहरूको तयारीमा पनि छ। अध्यक्षसँग असहमत हुन सजिलो छ; आफ्नो पक्षमा बहुमत जुटाउन कठिन छ। तेस्रो पुस्ताले त्यो कठिन काम गर्ने आँट गर्यो भने परिवर्तन सम्भव हुन्छ। नत्र फरक मत बैठकमा सुनिनेछ, पदको समीकरण फेरिनेछ, तर अध्यक्षलाई चुनौती दिने प्रश्न फेरि अनुत्तरित रहनेछ।




