काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा चोरी निकासी तथा पैठारी गरिएका करिब ३८ लाख २४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका विभिन्न युनिटबाट खटिएका टोलीले २०८३ भदौ २४ गते देशका विभिन्न स्थानमा गरेको जाँच तथा खानतलासीका क्रममा ती सामान नियन्त्रणमा लिएको हो।
बरामद सामानमा लत्ताकपडा, खाद्यान्न, मोटर पार्टपुर्जा तथा विद्युतीय सामग्रीलगायत रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
भन्सार छली तथा चोरी निकासी–पैठारी नियन्त्रण गर्ने अभियानअन्तर्गत सीमावर्ती क्षेत्र र शङ्कास्पद स्थानमा गरिएको जाँचका क्रममा अवैध सामान फेला परेको हो।
बरामद गरिएका सामान आवश्यक अनुसन्धान, मूल्याङ्कन तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
अवैध निकासी–पैठारीले राजस्व चुहावट बढाउने भएकाले सीमा क्षेत्रसहित देशका विभिन्न स्थानमा निगरानी, गस्ती र जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।




