काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति गगन थापाबीच २०८३ भदाै २१ गते आइतबार भेटवार्ता भएको छ। दुई नेताबीच दिउँसो १२ः३० बजे भएको भेटमा कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान तथा पार्टी एकताका विषयमा छलफल भएको डा. कोइरालाको सचिवालयले जनाएको छ।
भेटमा डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गर्दै चुनौतीको सामना गर्न कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताउनुभयो।
पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उहाँले सभापति थापासमक्ष स्पष्ट पार्नुभएको सचिवालयले जनाएको छ।
“अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेका छन्। यस्तो परिस्थितिमा नेपाली कांग्रेस एकढिक्का हुनुको विकल्प छैन,” डा. कोइरालाको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ, “पार्टी एकताका लागि मेरो तर्फबाट जे–जति त्याग गर्नुपर्छ, त्यसका लागि म तयार छु।”
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको थियो। पार्टीभित्रका असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अगाडि बढाउनुपर्नेमा दुवै नेता सहमत भएको बताइएको छ।
डा. कोइरालाले पछिल्लो समय पार्टीभित्रको समस्या समाधान र आन्तरिक एकता कायम गर्ने उद्देश्यले कांग्रेसका शीर्ष तथा विभिन्न तहका नेताहरूसँगको संवाद तीव्र बनाउनुभएको छ। सभापति थापासँगको भेटलाई पनि सोही पहलको निरन्तरताका रूपमा हेरिएको छ।
भेटवार्तामा भदौ १० गते बुधबार नेपाल–चीन सीमावर्ती रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट उत्पन्न अवस्थाका विषयमा समेत छलफल भएको थियो।
दुई नेताबीच बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्था, खोज तथा उद्धार, राहत वितरण र प्रभावित परिवारको पुनःस्थापनाका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।




