काठमाडौं, १७ भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा २०८३ भदाै १७ गते बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीहरूबाट राहतस्वरूप संकलित रकमबाट मृतक प्रहरीका परिवारलाई तत्काल उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।
बैठकले गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढीमा परी हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीहरूको खोजीलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ। त्यसका लागि बेपत्ता प्रहरीका परिवारका सदस्यसँग निरन्तर सम्पर्क र समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गरिने नेपाल प्रहरीले जनाएको छ।
कल्याण कोषको ऋण मिनाहा गरिने
बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरेको छ। यस व्यवस्थाले मृतक प्रहरीका परिवारमाथि रहेको आर्थिक दायित्व कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, मृतक प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरिने भएको छ। तालिम प्राप्त व्यक्तिलाई रोजगारीमा जोड्न आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको छ।
सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था
दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत निःशुल्क अध्ययनको व्यवस्था मिलाइने भएको छ। उनीहरूलाई पायक पर्ने नेपाल प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययन गराइनेछ।
त्यसैगरी, नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।
प्रभावित प्रहरीलाई जनही ५० हजार
बाढी प्रभावित क्षेत्रका विभिन्न प्रहरी एकाइमा कार्यरत कर्मचारीका व्यक्तिगत सामग्रीमा पुगेको क्षतिबापत जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।
यो सुविधा इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत बाढी प्रभावित प्रहरी कर्मचारीले प्राप्त गर्नेछन्।
सहजीकरण गर्न सम्पर्क अधिकृत तोकिने
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय पनि बैठकले गरेको छ।
तोकिएका अधिकृतले बाढीमा परी ज्यान गुमाएका, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारीका परिवार र आफन्तसँग समन्वय गर्नेछन्। उनले बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारले पाउने सेवा–सुविधा उपलब्ध गराउने प्रक्रियामा आवश्यक सहजीकरण गर्ने नेपाल प्रहरीले जनाएको छ।




